लाखौँको ड्रायर मेशिन कवाडीमा परिणत, मकै बाटोमा सुकाइँदै
झापा । कृषि ज्ञान केन्द्र झापाले अनुदानमा प्रदान गरेको लाखौँको दुई वटा ड्रायर मेशिन कवाडीमा परिणत हुँदा झापाको झापा गाउँपालिकाका किसानलाई मकै सुकाउन समस्या भएको छ ।

झापा गाउँपालिकाले समेत लगानी गरी करिब ३५ लाख रुपैयाँमा झापा गाउँपालिकाका दुई वटा सहकारी संस्थालाई मकै सुकाउने ड्रायर मेशिन उपलब्ध गराइएकोमा ती मेशिन कवाडीमा परिणत भएपछि किसानहरु हुलाकी बाटोमा मकै सुकाउन बाध्य भएका छन् ।
आर्थिक वर्ष २०७७–०७८ मा मकै उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रबाट ५० प्रतिशत अनुदानमा कुमरखोद साना किसान कृषि सहकारी र मारसल कृषि सहकारी संस्थाले ड्रायर मेशिन प्राप्त गरेका थिए । झापा गाउँपालिकाले मेशिन खरिदका लागि दुवै सहकारीलाई २ लाखका दरले सहयोग गरेको थियो । त्यसैगरी एस.एन.जेडी नामक गैरसरकारी संस्थाले आर्थिक अवस्था कमजोर भएको मारसल कृषि सहकारी संस्थालाई मेशिन खरिदका लागि १ लाख ९० हजार रुपैयाँ सहयोग गरेको थियो ।

ती ड्रायर मेशिन दक्ष प्राविधिक नहुँदा चार वर्षदेखि बिग्रिएर थन्किएको बताइएको छ । दक्ष प्राविधिक अभावका कारण बारम्बार बिग्रिएपछि मेशिन चलाउन नसकिएको मारसल कृषि सहकारी संस्थाकी राप्ती राजवंशीले बताउनुभयो ।
त्यसैगरी साना किसान सहकारी संस्थाका रूपक राजवंशीले पटक–पटक मेशिन बिग्रने र मर्मतमा खर्च धेरै लाग्ने भएकोले चलाउन नसकिएको बताउनुभयो ।
मकै जोन कार्यक्रम सञ्चालन भइरहेको झापा गाउँपालिकाका किसानहरुले ठूलो क्षेत्रफलमा मकै खेती गर्दै आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्