तपाईँ सुन्दै हुनुहुन्छः

‘राष्ट्रिय हित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढे एमालेको एकल बहुमत आउँछ’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्त्वाकाङ्क्षा नभई राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिरका अनेक थरी स्वार्थको टक्कर गर्नेहरूले मोर्चाबन्दी गरी एमालेविरुद्ध लागेर झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई विभाजन गराइए पनि त्यस स्थितिबाट अब पार्टी सुदृढ भइसकेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “व्यक्तिगत महत्त्वाकाङ्क्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेको एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन । विभाजन हुँदा पनि हामी लोकप्रिय पार्टी बन्न सकेका छौँ । आज एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्ने कसैको हैसियत छैन । त्यसकारण हामी मिसन २०८४ मा अघि बढेका छौँ । यसमा जो जहाँ छौँ, त्यहाँबाट योगदान गरौँ ।”

उहाँले देशमा संक्रमण कालमा रहेको र देशले सही निकास खोजिरहेकाले देशको परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यस अनुसार सक्रिय हुन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झण्डा बोक्न नछोड्न आग्रह गर्नुभयो । “म एमालेको झोले हुँ । यतिभन्दा एमालेको विरोधीहरूलाई चित्त बुझ्छ होला । म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु । यसमा मलाई गर्व छ ।”, अध्यक्ष ओलीले भन्नुभयो, “जे मा पनि खोट देख्ने तथाकथित आलोचनात्मक चेतबाट माथि उठ्नुस् । ढुक्क भएर राष्ट्रिय एकता र परिवर्तनको सही विचारलाई गौरवका साथ बोकेर हिँड्नुस् । तपाईँहरू बुद्धि बेचेर खाने वर्ग मात्रै होइन, बौद्धिक वर्ग हो । देशलाई नोक्सान पार्ने र बेठिक गर्नेहरुको विरोध गर्नुस् । सही विचार बोक्नेहरूलाई अझ सुधारका लागि उपयुक्त सुझाव दिनुस् ।”

एमालेले राष्ट्रिय एकतालाई सर्वोपरि ठान्ने स्पष्ट गर्दै उहाँले लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने समयमा पृथ्वी पथका नाममा राजतन्त्र पुनःस्थापनाको कुरा उठाउनु अप्रासङ्गिक हुने टिप्पणी गर्नुभयो ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत सहभागी कार्यक्रममा विभिन्न विधाका बुद्धिजीवीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button