तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रादेशिक अस्पतालभित्र  नयाँ रक्त सञ्चार केन्द्र सञ्चालन 

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालभित्र नयाँ रक्त सञ्चार केन्द्रको सुरुवात भएको छ । शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार सङ्घको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नुभयो । सरकारी अस्पतालमा आफ्नो रक्तसञ्चार केन्द्र भएको पहिलो अस्पताल हो । मुख्यमन्त्री आचार्यले बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान गर्नुभयो।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको बताउँदै निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने बताउनुभयो । ‘रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी सरकारले काम अघि बढाएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीको हकमा उपलब्ध गराउन केही कानुनी जटिलता देखिएको छ । सरकार सबैलाई निःशुल्क रगत उपलब्ध गराउन चाहन्छ’ उहाँले भन्नुभयो ।

समुदायको क्षेत्रबाट रक्त सञ्चार केन्द्र स्थापना गर्न खेलेको भूमिकाको मुख्यमन्त्री आचार्यले प्रशंसा व्यक्त गर्नुभयो। दान र सेवाको माध्यमबाट सामाजिक कामलाई अघि बढाउन सकिने र सबैमा सेवाको भावनाको भोग जाग्न जरुरी रहेको उहाँले  बताउनुभयो । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रूपमा अघि बढाएको र अस्पतालभित्रका सेवा विस्तार भइरहेका जानकारी दिनुभयो । अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार सेवा प्रवाहलाई चुस्त बनाउँदै अघि बढेको उहाँको भनाइ थियो । 

‘बिरामीहरूले अपरेसनका निमित्त धेरै दिन कुर्न नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले लक्ष्यसहित काम अघि बढाएको छ । सेवा प्रवाह नै पहिलो सर्त हो । यसमा सरकार दृढ छ’ उहाँले भन्नुभयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सरकारी अस्पतालमा सेवा सहजताका लागि सरकारले विशेष योजना बनाएको बताउनुभयो । 

रुपन्देही व्यापार सङ्घले ४ वर्षअघि १ करोड ६० लाख लागतमा किनेर दिएको यो मेशिन अहिलेसम्म अलपत्र रहेको थियो । अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालभित्र रगतको व्यवस्थापन गराउन साथ दिने व्यापार सङ्घसहितका सबैलाई धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button