हिमालय कुमार श्रेष्ठ अख्तियारमा यथावत, ओम बहादुर राना उपत्यका प्रहरी कार्यालयमा खटाइयो
काठमाडौँ । प्रहरी नायव महानिरीक्षकहरूको सरुवा तथा पदस्थापनसम्बन्धी समाचारले सामाजिक सञ्जाल र अनलाइन माध्यमहरूमा चर्चा पाइरहेको सन्दर्भमा नेपाल प्रहरी प्रधान कार्यालयले औपचारिक जानकारी सार्वजनिक गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट जारी गरिएको विज्ञप्ति अनुसार, हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठलाई साबिककै दरबन्दीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा यथावत रूपमा रहने गरी निर्णय गरिएको छ।
त्यस्तै, प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा कामकाज गर्ने गरी खटाउने निर्णय भएको उल्लेख छ।
प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी विज्ञप्तिमा अनलाइन र सामाजिक सञ्जालमा फैलिएको भ्रम चिर्दै स्पष्ट पारिएको हो। विज्ञप्तिमा भनिएको छ, “यस सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको छ,” र यथार्थ विवरण सार्वजनिक गरिएको हो।
उक्त सूचना नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाद्वारा हस्ताक्षरित छ।

प्रतिक्रिया राख्नुहोस्