तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा पूर्णखोप सुनिश्चितता, दिगोपना भएको जिल्ला घोषित

पाल्पा । पाल्पा जिल्लालाई पूर्णखोप सुनिश्चितता, दिगोपना भएको जिल्ला घोषणा गरिएको छ ।

आज तानसेनमा आयोजित घोषणासभामा पाल्पा जिल्लालाई २०७० सालदेखी निरन्तर पूर्णखोप सुनिश्चितता भएको जिल्लाको रुपमा रहँदै आएको र त्यसलाई दिगोपना दिएकाले पूर्णखोप सुनिश्चितता, दिगोपना भएको जिल्लाको रुपमा घोषणा गरिएको हो । 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक नेत्रप्रसाद अर्यालले जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समिति प्रमुख टङ्कनाथ खनाललाई पूर्णखोप सुनिश्चितता, दिगोपना भएको प्रमाणपत्र प्रदान गर्दै पाल्पालाई पूर्णखोप सुनिश्चितता, दिगोपना भएको घोषणा गरिएको हो । 

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले २०७० साल फागुन १३ गते नेपालमै पहिलो पटक पाल्पा जिल्लालाई पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको बताउँदै ।, लुम्बिनी प्रदेशमा लगातार दुईपटकसम्म प्रथम भएको बताउनुभयो । उहाँले स्वास्थ्यमा पाल्पा जिल्ला निकै अगाडी रहेको बताउँदै सरकारले नसर्ने रोग विरुद्धको स्क्रिनिङ्गमा लक्ष्य भन्दा बढी उपलब्धि हासिल गरेको बताउनुभयो । पाल्पाले १३ हजार २९६ जनाको स्क्रिनिङ्ग गरेर लक्ष्य भन्दा १०८ प्रतिशत उपलब्धि हासिल गरेको मन्त्री सारुले बताउनुभयो । 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक नेत्रप्रसाद अर्यालले यो अभियानले स्वास्थ्यको प्रणाली सुधार, दिगो विकासमा योगदान, मातृ तथा शिशु स्वास्थ्यमा सहयोग पुग्ने बताउनुभयो । उहाँले पाल्पा जिल्ला हरेक बर्ष दिगोपना सुनिश्चितता भएको जिल्लाको रुपमा रहँदै आएकोमा त्यसमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद दिनुभयो । 

जिल्लाका ८१ वटै वार्ड र १० वटै स्थानीय तहमा ९५ प्रतिशत भन्दा बढी बालबालिकालाई पूर्ण खोप दिएपछि जिल्ला पूर्णखोप सुनिश्चितता जिल्ला भएको हो । १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेर भित्र पर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चितता गरि जिल्लालाई पूर्णखोप सुनिश्चितता, दिगोपना घोषणा गरिएको हो । 

जिल्ला खोप समन्वय समितिले जिल्लामा सबै वार्डमा पुगी पूर्ण खोप लगाए नलगाएको अनुगमन र प्रमाणित गरेपछि मात्रै जिल्लालाई पूर्णखोप सुनिश्चितता, दिगोपना भएको जिल्लाको रुपमा घोषणा भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button