तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथालाई स्वच्छ र मर्यादित बनाउन प्रधानमन्त्री ओलीको जोड 

'फोहोर नियन्त्रण र नियम संशोधनमा सरकार प्रतिबद्ध'

काठमाडौँ । अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित समिट शिखर आरोहीहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै  प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा क्षेत्रमा बढ्दो फोहोरमैला र अव्यवस्थापनप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।

उहाँले सगरमाथाको गरिमा कायम राख्न र आरोहणलाई अझ सुरक्षित, सुन्दर र उन्नत बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

सगरमाथामा फोहोरको चुनौती र सफाइ अभियानको निरन्तरता
मन्तव्यका क्रममा प्रधानमन्त्री ओलीले सगरमाथामा बढ्दो फोहोरमैलाको समस्यालाई प्रमुख चुनौतीको रूपमा प्रस्तुत गर्नुभयो। “दुई राउण्ड हामीले त्यसको अभियान चलाइसक्यौँ। तर पनि त्यो सफा भइसकेको छैन,” उहाँले भन्नुभयो, “अझै पनि हामीले अभियानको रूपमा सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनु पर्नेछ।” उहाँले फोहोर नियन्त्रणका लागि कडा नीति नियमको आवश्यकता औँल्याउनुभयो, जसअन्तर्गत आरोहीले लिएर गएको कुनै पनि फोहोर सगरमाथामा छोड्न नपाउने र बेसक्याम्पमा बुझाउनु पर्ने प्रावधान राख्नुपर्नेमा जोड दिनुभयो।

ऐन संशोधनको तयारी:  भीड व्यवस्थापन र आरोहणको सहजतामा छलफल
प्रधानमन्त्री ओलीले सगरमाथा आरोहणसम्बन्धी ऐन र नियमहरू संशोधन गर्ने कार्य प्रक्रियामा रहेको जानकारी दिनुभयो। उहाँले अहिले सगरमाथामा देखिएको अत्यधिक भीड (क्राउड)र आरोहणको सहजताका कारण उत्पन्न चुनौतीहरूमाथि छलफल भइरहेको बताउनुभयो। “सगरमाथा अहिले पहिलेको जस्तो छैन, तेन्जिङ नोर्गे र हिलारीले चढेको छैन। अहिले थुप्रै मानिसहरू चढेर बाटो बनाइसकेका छन्, डोरी टाँगिसकेका छन्,” उहाँले भन्नुभयो, “अहिले जो पनि चढुँला जस्तो र धेरै अभ्यास नै नगरिकन एकै चोटि सगरमाथा जाउँला जस्तो गर्छ मान्छे, किनभने चढाइदिने शेर्पा छँदैछ, माथि पुर्‍याइदिइहाल्छ भन्ने मान्छे ढुक्क छ।” उहाँले सगरमाथा आरोहणलाई “हल्का”बनाउन नहुनेमा जोड दिनुभयो।

सुझावको आह्वान र पारदर्शितामा जोड
सरकारलाई सगरमाथा व्यवस्थापनमा कुनै स्वार्थ नभएको र राम्रो गर्ने मात्र उद्देश्य रहेको ओलीले स्पष्ट पार्नुभयो। उहाँले नेपाल माउण्टेनियरिङ एशोसिएशन र पर्यटन बोर्ड लगायतका सरोकारवाला निकायहरूबाट ठोस सुझावहरू आमन्त्रण गर्नुभयो। ‘सरकारलाई यसमा धेरै केही लिनुदिनु छैन, यसमा राम्रो गर्नु मात्रै छ,’ उहाँले भन्नुभयो,”त्यसकारण राम्रो गर्नका लागि म यहाँहरूसँग सुझावहरू आमन्त्रण गर्न चाहन्छु र सुझावहरू दिनुहोस्। हामी राम्रो गर्नका लागि त्यसलाई संशोधन गर्छौं।’

डोपिङ र सगरमाथाको गरिमा
प्रधानमन्त्री ओलीले सगरमाथा आरोहणमा डोपिङ जस्ता गलत कार्यहरू हुन नदिन सचेत रहनुपर्नेमा जोड दिनुभयो। ‘केही अन्तर्राष्ट्रिय समाचार माध्यमहरूमा मैले सुनेको छु कि विभिन्न खालका कुराहरू डोपिङजस्तै केही औषधि खाएर चढ्यो,’ उहाँले भन्नुभयो, ‘त्यस्तो हो भने त्यो नहोस् भन्ने म आग्रह गर्न चाहन्छु। सगरमाथासँग पनि बेइमानी ? यो त भएन।’ उहाँले यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने र सगरमाथाको गरिमा कायम राख्नुपर्नेमा विशेष जोड दिनुभयो।

अन्तमा,प्रधानमन्त्री ओलीले सगरमाथालाई धेरै सस्तो चिज बनाउनुभन्दा त्यसको “वेट” राख्ने तरिका अवलम्बन गर्नुपर्ने बताउनुहुँदै सबै आरोही र सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button