‘प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा पुरस्कार घोषणा
काठमाडौँ । गायक प्रेमध्वज प्रधानको जन्मजयन्तीको अवसर पारेर ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ले नेपाली गीतसङ्गीत क्षेत्रका चार विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने उक्त सम्मान तथा पुरस्कार यही जेठ २७ गते स्वर्गीय प्रधानकै जन्मथलो सिन्धुपाल्चोकको चौतारामा आयोजना गरिने प्रतिष्ठानकी कोषाध्यक्ष भुवन मास्केले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा गायक प्रधानकी धर्मपत्नी श्रीमती किरण प्रधानको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
“यस वर्षको सम्मान तथा पुरस्कार गायक प्रधानकै जिल्लामा दिने तयारी छ । उहाँको सम्झनामा गीतसङ्गीतमा आफ्नो जीवन समर्पित गरेकालाई थोरै भए पनि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ”, कोषाध्यक्ष मास्केले भन्नुभयो ।
यस वर्षको ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान– २०८२’ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गरिने भएको छ । उहाँलाई सम्मानसँगै रु एक लाख एक हजार नगद राशि प्रदान गरिने छ ।
त्यसैगरी, ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यसङ्गीत सम्मान –२०८२’ बाट वरिष्ठ वाद्य सङ्गीत निर्देशक मोहनकृष्ण कार्की ढली र गायक सुरजकुमार थापालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि रु ५० हजार एक रहेको छ ।
यसैगरी, सिन्धुपाल्चोक निवासी प्रतिभावान् गायक चन्द्रसिं घलेलाई ‘प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार–२०८२’ प्रदान गरिनेछ । यस पुरस्कारको राशि रु २५ हजार एक रहेको प्रतिष्ठानकी कोषाध्यक्ष मास्केले जानकारी दिनुभयो । नेपाली सङ्गीत क्षेत्रमा योगदान पुर्याएका स्रष्टालाई सम्मानित गर्दै आएको प्रतिष्ठानले यस वर्ष पनि विभिन्न विधामा योगदान दिने कलाकारलाई छनोट गरी सम्मान गर्न लागेको हो ।
प्रतिक्रिया राख्नुहोस्