तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र दिवस: लुम्बिनी प्रदेशमा सांस्कृतिक झाँकीसहित प्रभातफेरी

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले १८औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।

सांस्कृतिक झाँकीसहित प्रभातफेरी पछि मुख्य समारोह आयोजना गर्दै प्रदेश सरकारले यो गौरवपूर्ण दिवस मनाएको हो ।

त्यस अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त गणतन्त्रको संस्थागत विकासमा जोड दिँदै समावेशी, समानुपातिक, न्यायपूर्ण र उत्तरदायी शासनको अभ्यासलाई सुदृढ गर्न गणतन्त्र दिवसले प्रेरणा दिने बताउनुभयो ।

  उहाँले गणतन्त्रले अधिकारसँगै कर्तव्य बोध गराएको उल्लेख गर्दै सेवा प्रवाह, सुशासन र समृद्धिका निम्ति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । साथै उहाँले लुम्बिनी सरकार कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, युवा उद्यमशीलता तथा स्वरोजगारलाई प्राथमिकतामा राखेर योजनाबद्ध क्रियाशील रहेको बताउनुभयो । 

सभामुख तुलाराम घर्तिमगरले गणतन्त्र जनताको शासन प्रणाली भएको उल्लेख गर्दै त्यसको संस्थागत सुदृढीकरण तथा विकासमा जोड दिनुभयो । उहाँले राजनीतिक सङ्घीयता प्राप्त भए पनि प्रशासनिक तथा वित्तीय सङ्घीयताको व्यवहारिक कार्यान्वयन अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो ।

पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गणतन्त्रको मूल उपलब्धि सङ्घीयता भएको उल्लेख गर्दै यसको लक्ष्य देश विकास भएको बताउनुभयो । उहाँले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न सङ्घीय सरकार तत्पर हुनुपर्ने बताउनुभयो ।

विपक्षी दलका नेता जोखबहादुर महराले गणतन्त्रलाई सुदृढ गर्दै जनताका आधारभूत आवश्यकता पूरा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै  अधिकार खोज्दै आफ्नो कर्तव्य पनि हरेक नागरिकले निर्वाह गर्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button