तपाईँ सुन्दै हुनुहुन्छः

कसैको विरोध नभइ खुसीयाली साटासाट गर्न गणतन्त्र उत्सव : महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सचिवालय बैठकको निर्णयअनुसार गणतन्त्र दिवसलाई आमजनताको सहभागितासहित उत्सवका रूपमा मनाइने बताउनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज प्रेस चौतारी नेपालले ‘गणतन्त्र उत्सवको तयारीका सम्बन्ध’मा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गणतन्त्र दिवसका अवसरमा हुने बजेट प्रस्तुतिले विशेष प्राथमिकता पाउँदा गणतन्त्र दिवसजस्तो ऐतिहासिक पर्वतर्फ ध्यान पुग्न नसकेको महसुस गरी एमालेले भव्यताका साथ दिवस मनाउने निर्णय गरेको स्पष्ट गर्नुभयो ।  

महासचिव पोखरेलले राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरी हरेक वर्ष जेठ १५ गतेको सट्टा अर्को कुनै दिन बजेट प्रस्तुत गर्न उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो । 

उहाँले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सव, खुशी र गौरवका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै विभिन्न बाजागाजा, झाँकीसहित हर्षोल्लास र रचनात्मक कार्यक्रम आयोजना गरी यसवर्ष गणतन्त्र दिवस मनाइने उल्लेख गर्नुभयो । 

उहाँले ऐतिहासिक संविधानसभाको निर्णयसहितको फैसला स्वीकार गरेका पूर्व राजा ज्ञानेन्द्र संविधानको विपक्ष र लोकतन्त्रको विरोधमा देखिनु आपत्ति एवं खेदजनक विषय भएको टिप्पणी गर्दै यस किसिमका संविधान विरोधी गतिविधिमा सरिक नभइ सम्मानित नागरिकका रूपमा रहन सुझाव दिनुभयो ।

महासचिव पोखरेलले लोकतान्त्रिक शासन व्यवस्था विरोधी तत्त्वहरू सलबलाइरहेको विद्यमान अवस्थामा गणतन्त्र स्थापनाका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीका हैसियतले विभिन्न कार्यक्रमसहित उत्सवमय वातावरणमा मनाउन लागिएको गणतन्त्र दिवसमा सहभागी हुन सबै राजनीतिक पार्टी, पेसा–व्यवसायी, नागरिक समाजसहित आमजनतासँग अनुरोध गर्नुभयो ।

एमाले महासचिव पोखरेलले देशमा राजनीतिक व्यवस्था परिवर्तन गर्ने काम सम्पन्न भइसकेकाले विकास र समृद्धिको दिशातर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 

एमाले सचिवालय बैठकले पार्टी नेताहरूको कार्य विभाजनसहित आमजनताको सहभागितामा भव्य एवं उल्लासमय वातावरणमा भोलि गणतन्त्र दिवस मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button