तपाईँ सुन्दै हुनुहुन्छः

‘गणतन्त्र उत्सव कसैको विरोध लक्षित हैन’

काठमाडौँ । नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले यही जेठ १५ गते मनाउन लागिएको गणतन्त्र उत्सव कसैको विरोध लक्षित नभएको बताउनुभएको छ । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पार्टीका विभागका सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उहाँले गणतन्त्र नेपाली जनताको सबैभन्दा ठूलो उत्सव भएकाले जनताको विजयका रुपमा मनाउन लागेको जानकारी दिनुभयो । 

“जनताको बलिदानी सङ्घर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र जोगाउन जनताले यो दिन हाम्रो दिन हो भन्ने अनुभूति दिलाउन पनि एमालेले उत्सवका रुपमा झाँकीसहित मनाउन लागेको हो”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले गणतन्त्र–लोकतन्त्रको बारेमा विद्यालय तहको पाठ्यक्रममा राख्न  आवश्यक रहेको बताउनुभयो । उहाँले गणतन्त्रपछि जन्मिएका युवाले बलिदानीपूर्ण सङ्घर्षबाट लोकतन्त्र–गणतन्त्र स्थापना भएको हो भन्ने जानकारी दिन पनि विद्यालय शिक्षामै लोकतन्त्र र गणतन्त्रबारे पढाउनुपर्ने आवश्यकता  औँल्याउनुभयो । 

राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा लड्ने पार्टी एमाले भएका कारण सबैभन्दा बढी प्रहार एमालेमाथि नियोजित ढङ्गले भइरहेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button