इलामको रोङ गाउँपालिकामा रेडियो नेपालको रेडियो बहस कार्यक्रम सम्पन्न
इलाम । सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालको आयोजनामा स्थलगत रेडियो बहस तथा छलफल कार्यक्रम इलामको रोङ गाउँपालिकामा सम्पन्न भएको छ ।

रेडियो नेपालका कार्यक्रम निर्देशक अर्जुन श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा रोङ गाउँपालिकाका अध्यक्ष मणि कुमार स्याङबो, सुभाष उपाध्यक्ष बिष्णु माया खवास प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार चौहान लगायत गाउँपालिका बासीको उल्लेखीय उपस्थित रहेको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष स्याङबोले रोङ गाउँपालिकाले ठूलो लगानी बिना गर्न सकिने काम नागरिकसँग सहकार्य गरेर गर्दै आएको र अधिकांश जनता कृषि पेशामा आबद्ध रहेकोले कृषि मार्फत क्रान्ति अभियान गाउँपालिकाले चलाइरहेको बताउनुभयो ।

उपाध्यक्ष खवासले सहकारी संस्थासँग सहकार्य गरेर धेरै कार्य गरिरहेको सहकारी कर्मीलाई एक गराउन विभिन्न सहकारीहरू मर्ज गर्न अभियानमा पनि रहेको तथा कृषिमा गुन्द्रुक उत्पादन प्याकेजिङ बजारीकरण सिस्नो बेसार करेला प्रशोधन प्याकेजिङ बजारीकरण लगायतमा गाउँपालिकाले विशेष कार्य गरिरहेको बताउनुभयो । उहाँले यसबाट कृषिमा आकर्षण बढेको एवं कृषिमार्फत आर्थिक उन्नतिमा किसानलाई लान सहज भएको जानकारी दिनुभयो ।
रोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौहानले पालिकाको दिल र दिमाग जनप्रतिनिधि हात र खुट्टा कर्मचारी भएकोले जनप्रतिनिधि र कर्मचारी हातेमालो गरेर अगाडी बढेको बताउनुभयो । भौतिक पूर्वाधारमा विभिन्न सडकहरू निर्माण विद्यार्थीसँग अध्यक्ष कार्यक्रम अभिभावक शिक्षा गुरु किसान कार्यक्रम मार्फत जनता केन्द्रित कार्यक्रममा पालिका लागेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ३ का अध्यक्ष मातृका बराल कृषि शाखा प्रमुख पवित्रा थापा, कृषि प्राविधिक प्रदीप लुइँटेल स्थानीय सरोकारवालाहरू डाइमन न्यौपाने, चूडामणि भुजेल, शिव कुमार अर्याल, नगेन्द्र राई, भक्त खवास, पवित्रा अर्याल, कुमार मोक्तान, खड्ग चाम्लिङ लगायतले रोङ गाउँपालिकाको विकास निर्माण भएका उपलब्धिको स्थायित्व र नभएका कुराहरूको क्रमशः निर्माणमा जोड दिनुभएको थियो ।
रेडियो नेपालले पालिकाहरूको असल अभ्यास सबै माझ पुराउन तथा पालिका बासीको गुनासो सुझाव सुन्ने सुनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सहजकर्ता श्रेष्ठले जानकारी दिनुभयो ।
रोङ गाउँपालिकाले कृषिमा निक्कै उत्कृष्ट कार्यक्रम गर्दै आएको छ । गुन्द्रुकको बान्डिङ गर्ने बेसार सिस्नुको पालिकाले नै प्याकेजिङ ब्रान्डिङ गरिरहेको छ । यसबाट किसानलाई कृषिमा आकर्षण बढेको छ भने किसानलाई आत्मनिर्भर बन्न सहज भएको छ । पालिकाले देशमै नमुनाको रूपमा गुरु किसान कार्यक्रम पनि सञ्चालन गरेको छ । किसान हुनमा गर्व बोध गराउने यो कार्यक्रम सञ्चालन भएसँगै एक किसानले सिकेका ज्ञान अर्को किसानसम्म सिक्ने सिकाउने अवसर मिलेको छ ।
प्रतिक्रिया राख्नुहोस्