न्यायपालिका सुधारउन्मुख रहेको मुख्य न्यायाधीश सारुको भनाइ
बाँके। उच्च अदालत नेपालगञ्ज इजलासका मुख्य न्यायाधीश चन्न्याद्र बहादुर सारुले न्यायपालिका सुधारको दिशामा अघि बढिरहेको बताउनुभएको छ।
नेपालगञ्जमा राष्ट्रिय मानव अधिकार आयोगको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले छिटो, छरितो, निष्पक्ष र गुणस्तरीय न्याय सम्पादनमार्फत जनआस्था र सुशासन प्रवर्द्धन गर्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले संविधानले प्रत्याभूति गरेका स्वतन्त्र र सक्षम न्यायपालिकाको मान्यतालाई अक्षुण राख्दै न्याय पहुँच र सेवामा प्रभावकारिता ल्याउने काम भइरहेको उल्लेख गर्नुभयो ।
न्यायाधीश सारुले मानव अधिकारसँगै नागरिकको मौलिक हक संरक्षणमा थप प्रभावकारिता आवश्यक रहेको बताउँदै कर्तव्य बोध गर्दै अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्ला प्रशासन सुधारको लयमा रहेको बताउँदै सुशासन र जनआस्था अभिवृद्धिमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालगञ्जस्थित आयोग कार्यालयका प्रमुख द्वारिका अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगरलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्