पिएसबीका अध्यक्ष डा. बिष्ट र सिएमजीका निर्देशक आनबीच भेटवार्ता
बेइजिङ। चीनको औपचारिक भ्रमणमा रहनुभएका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण दलमा सहभागी सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्ट र चाइना मिडिया ग्रुप (सिएमजी) का वरिष्ठ पदाधिकारीबिच आज बेइजिङमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

पिएसबीका अध्यक्ष डा. बिष्ट र सिएमजीको एसिया तथा अफ्रिकी भाषिक कार्यक्रम केन्द्रका निर्देशक तथा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजीटिएन) का कार्यकारी उपप्रधान सम्पादक आन सिआओयुबीच भएको छलफलमा दुवै संस्थाबीच प्रविधि र कार्यक्रम आदानप्रदान गर्ने विषयमा सहमति भएको अध्यक्ष डा. बिष्टले जानकारी दिनुभयो।

गत डिसेम्बरमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पिएसबी र सिएमजीबीच आपसी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो। आजको छलफलमा सो समझदारी पत्रलाई कार्यान्वयनमा ल्याउने सम्बन्धमा दुवै पक्षले चाँडै गृहकार्य गरेर अगाडि बढ्ने सहमति जनाएका छन्।
प्रतिक्रिया राख्नुहोस्