ठोरीको सीमा विवाद दुवै पक्षका सुरक्षाकर्मीको पहलमा साम्य

बीरगंज । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले शनिबार पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ बुद्धनगर र रामनगरको सीमा क्षेत्र नजिक नेपाली भू–भागमा लगाइएको काँडे तार बार भत्काएपछि चर्किएको सीमा विवाद दुवै पक्षका सुरक्षाकर्मीको पहलमा साम्य भएको छ ।
बारम्बार सीमा विवाद हुँदै आएको ठोरीमा शनिवार बुद्धनगर र रामनगरको सीमा क्षेत्र नजिक नेपाली भू–भागमा लगाइएको काँडे तार बार भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्काएपछि विवाद शुरु भएको थियो ।
उत्पन्न विवाद आइतबार नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरूबीच सम्पन्न बैठकले भत्काइएको काँडे तार बारको पोल पुन निर्माण गर्ने सहमति गरेसँगै विवाद साम्म भएको हो ।

झन्डै पाँच वर्ष अघि लगाइएको काँडे तार बारको सम्बन्धमा अहिलेसम्म कुनै विवाद देखिएको थिएन । तर शनिबार भारतीय सीमा सुरक्षाकर्मीले एक पक्षीय रुपमा ३७ वटा काँडे तारको पोल भत्काएको नेपाल पक्षले जनाएको छ ।
नेपाली भूमिमा लगाइएको काँडे तार भारतीय पक्षले विना जानकारी भत्काएपछि नेपालको सीमा सुरक्षामा खटेको सशस्त्र प्रहरी बलले भारतीय पक्षको ध्यानाकर्षण गराएको थियो ।
आइतबार घटनास्थलमा पुगी भारतीय पक्षसँग संवाद गरेर पुरानै स्थानमा पोलहरू गाडिने सहमतिसँगै भत्काइएको काँडे तार बारको पोल पुन निर्माण गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बिओपी पोस्ट ब्रह्मनगरका सशस्त्र प्रहरी निरीक्षक प्रेम तामाङले बताउनुभयो ।
ठोरी गाउँपालिका वडा नम्बर ३ बुद्धनगर र रामनगरको सीमा क्षेत्र नजिक पर्ने ३७ वटा काँडे तारको पोल भत्काएको थाहा पाएपछि वडाध्यक्ष शम्भु खड्का, सशस्त्र प्रहरी नायव उपरीक्षक र स्थानीयहरू आइतबार उक्त स्थानमा पुग्नुभएको थियो ।
नेपाली पक्षले अहिले गाडिएकै स्थानमा काँडे तारको पोल गाडिनुपर्ने र सीमा छुट्टाउन पहल गरी दशगजा भित्रमा परेको खण्डमा सहमत जनाउन सकिने अन्यथा मान्य नहुने अडान राखेका थिए ।
नेपाली पक्षको कुरा जायज ठहर गरी आइतबार नै भारतीय सीमा सुरक्षाकर्मीहरूले नेपाली सुरक्षाकर्मीको रोहबरमा भत्काइएको काँडे तारका पोलहरू गाडेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बिओपी पोष्ट ब्रह्मनगरका सशस्त्र प्रहरी निरीक्षक प्रेम तामाङले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्