भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको कांग्रेसको निष्कर्ष
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पदाधिकारी बैकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भिजिटभिषा प्रकरणमा गृहमन्त्रीको संलग्नता कतैबाट पुष्टि नहुने र निर्दोष रहेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको भरमा राजीनामा दिन नहुने निष्कर्ष निकालेको बताउनुभयो ।
अध्यागमनमा भएको अख्तियारको छापामारी र त्यसपछिका कुराहरूमा संसदभित्र र बाहिर गृहमन्त्रीले प्रष्ट पार्ने पनि प्रवक्ता डा. महतले जानकारी दिनुभयो ।
पार्टीभित्रैका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकोमा कांग्रेस बैठकमा आलोचना भएको भन्दै अब नेताहरूले वास्तविकता बुझेकाले त्यस्ता अभिव्यक्ति नआउने पनि प्रवक्ता महतले प्रष्ट पार्नुभयो ।
बैठकमा गृहमन्त्री लेखकले उक्त प्रकरणको सविस्तार व्याख्या गर्दै कुनै संलग्नता नरहेको बताउनुभएको र लेखकको कुरालाई पार्टीले पूर्णरुपमा विश्वास गरेको भन्दै प्रवक्ता डा. महतले भिजिट भिसामा संलग्नमाथि निष्पक्ष छानविन गरेर कारबाही हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्