सूचना प्रविधि क्षेत्रका सस्थाद्वारा सरकारलाई सुझाव
काठमाडौँ।सरकारको सार्वजनिक सेवा प्रणालीलाई डिजिटल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘ई–गभर्नेन्स ब्लुप्रिन्ट २०८१’मा सूचना प्रविधि क्षेत्रका तीन प्रमुख संस्थाले ४१ बुँदे सुझाव दिएका छन् ।
कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ), साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (सीएसआरआई नेपाल) र इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) को प्रतिनिधिमण्डलले संयुक्त रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूणामणि पौडेललाई सुझावसहितको दस्तावेज बुझाएका हुन् ।
ती संस्थाले ब्लुप्रिन्टलाई डिजिटल नेपाल निर्माणको दिशामा ठोस पहलको रूपमा औँल्याउँदै सुधारका लागि आवश्यक सुझाव प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा गत वैशाख १७ गते बसेको ई–गभर्नेन्स आयोगको पहिलो बैठकपछि सुरु भएको परामर्श र विश्लेषणपछि तयार पारिएको यस मस्यौदामा मन्त्रालय, स्वायत्त निकाय, विज्ञ र सरोकारवालाको सहभागिता रहेको थियो ।
क्यान महासङ्घका कार्यवाहक अध्यक्ष एवम् वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले ‘डिजिटल बाइ डिफल्ट’ नीति, सार्वजनिक–निजी साझेदारीको प्रवर्द्धन र ‘एक नागरिक – एक ड्यासबोर्ड’ अवधारणाले समावेशी डिजिटल भविष्यको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले साइबर सुरक्षा सुदृढीकरण, डिजिटल साक्षरताको प्रवर्द्धन र एआई तथा ब्लकचेनजस्ता प्रविधिको उपयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
सीएसआरआई नेपालका अध्यक्ष डा शालिग्राम पराजुलीले डिजिटल नेपाल फ्रेमवर्कसँग समन्वयमा सरकारी सेवाको प्रभावकारिता र सहभागिता बढाउन ब्लुप्रिन्टले सहयोग गर्ने बताउनुभयो । उहाँले डेटा एक्सचेन्ज प्लेटफर्म मजबुत पार्दै अवधारणागत नक्कल न्यूनीकरण र स्रोतको प्रभावकारी उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष डा राजीव सुब्बाले डेटा सुरक्षालाई प्राथमिकता दिँदै बलियो साइबर सुरक्षा मापदण्ड, प्रभावकारी डेटा संरक्षण नीति र सुरक्षित क्रस–बोर्डर डेटा स्थानान्तरण प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
इन्साइट टेक्नोलोजीका प्रमुख कार्यकारी सुमन शर्माले ब्लुप्रिन्टलाई डिजिटल नेपालको सपना साकार पार्ने दिशामा महत्त्वपूर्ण दस्तावेज भन्दै डिजिटल पूर्वाधार सुदृढीकरणमा जोड दिनुपर्ने धारणा राख्नभयो । क्यान महासङ्घका महासचिव चन्द्रविलास भुर्तेलले डिजिटल नेपालको परिकल्पना साकार पार्न निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य भएको उल्लेख गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सचिव पौडेलले ब्लुप्रिन्टलाई अझ प्रभावकारी बनाउन प्राप्त सुझावलाई समावेश गरिने बताउँदै निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
ई–गभर्नेन्स ब्लुप्रिन्ट २०८१ मा ७ रणनीतिक स्तम्भ, डिजिटल पूर्वाधार सुदृढीकरण, नागरिक केन्द्रित सेवा, मानव स्रोत विकास, नवप्रवर्तन, कानुनी अद्यावधिक, समन्वय र मूल्याङकनलगायतका पक्ष समेटिएका छन् ।
ब्लुप्रिन्टले साझा राष्ट्रिय क्लाउड, ग्रामिण इन्टरनेट विस्तार, डिजिटल ड्यासबोर्ड, नागरिक एप, रियल–टाइम प्रतिक्रिया संयन्त्र, हरित सूचना प्रविधि र स्थानीय भाषामा सेवाको प्रयोगसमेत समेटेको छ ।
प्रतिक्रिया राख्नुहोस्