तपाईँ सुन्दै हुनुहुन्छः

परम्परागत सीपको उपयोग गर्दै जीवन निर्वाह गर्ने विपन्नहरू सहयोगको पर्खाइमा

नेपालगञ्ज । आफूसँग भएको परम्परागत सीप र क्षमताको बलमा बर्षौंदेखि घरपरिवार धानिरहेका कर्मयोगीहरू सबैका लागि प्रेरणाका स्रोत हुन् । घामपानी नभनेर साँझ बिहानको छाक टार्न सडक पेटीमै सीपको खेती गर्नेहरू स्थानीय सरकारबाट भने सहयोग नपाएको गुनासो गर्दछन् । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० गोसाईं गाउँका लेङ्गल लोहार तीस वर्षदेखि आरनको काम गर्नुहुन्छ । आरन चलाएर नै उहाँले घरको गुजारा गर्दै आउनुभएको छ । नेपालगञ्जको प्रचण्ड गर्मीमा सडक पेटीमै आरन चलाएर दैनिकी बिताउने लेङ्गलले यो बाहेक अर्को पेशा सोच्नुभएकै छैन । तर, कतैबाट पनि अहिलेसम्म केही सहयोग नपाएको लेङ्गलको गुनासो छ । 

नेपालगञ्जको भृकुटी नगरमा जुत्ता बनाउने व्यवसाय गर्दै आउनुभएकी मुना शाही एकल महिला हुनुहुन्छ । श्रीमानले छोडेर अर्को बिहे गरेपछि घर-व्यवहार चलाउन मुनाले १५ वर्षदेखि जुत्ता बनाएर बेच्ने उद्यम गरिरहनुभएको छ । ५ लाख लगानी गरेर उहाँले दुई बर्ष अघि पसल नै खोल्नुभएको छ । आफैँ छालाको नयाँ जुत्ता सिलाएर बेच्नुहुन्छ । आफूहरू जीवन निर्वाहका निम्ति सीप र क्षमता अनुसारको उद्यमशीलतामा निरन्तर लागिपरे पनि सहयोग कतैबाट नपाएको गुनासो लेङ्गल र मुना दुवैको छ । 

लेङ्गल लोहारको घर त छ, तर त्यो बाहेक जग्गा जमिन केही छैन । जेनतेन आरन चलाएर जीवन धानिरहेका लेङ्गललाई कसैले सहयोग गर्ला भन्ने नै लाग्दैन । स्थानीय सरकारले साना व्यवसाय गर्ने आफू जस्ता श्रमिकलाई सहुलियतमा ऋण सुविधा उपलब्ध गराए सहज हुने मुनाको अपेक्षा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button