तपाईँ सुन्दै हुनुहुन्छः

असार मसान्तभित्र जग्गाको वर्गीकरण गरिसक्न स्थानीय तहलाई आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आगामी असार मसान्तभित्र सबै स्थानीय तहलाई जग्गाको वर्गीकरणको काम सकिसक्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र जग्गाको वर्गीकरण नहुने हो भने विभिन्न समस्याहरू देखापर्ने उल्लेख गर्नुभयो । “सबै पालिकालाई आगामी असार मसान्तसम्म जग्गाको वर्गीकरण गरिसक्न भनिएको छ । यदि त्यो बेलासम्म वर्गीकरण भएन भने कित्ताकाट रोकिन्छ । किनबेच र अंशबन्डा बन्द हुन्छ”, उहाँले भन्नुभयो ।

मन्त्री अधिकारीले घरजग्गासम्बन्धी काम सहज बनाउन तथा भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने उद्देश्यसहित भूमिसम्बन्धी विधेयक ल्याइएको उल्लेख गर्नुहुँदै यसले जग्गासम्बन्धी प्रशासनिक अप्ठेरालाई सम्बोधन गर्ने बताउनुभयो । अहिले स्थानीय तहले जग्गाको वर्गीकरण गरेर कृषियोग्य जमिन भनेको लाई अन्य प्रयोजनका लागि किनबेच गर्न नपाइने व्यवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो ।

भू माफिया र बिचौलियालाई सहयोग पुग्ने गरी विधेयक आएको भनी संसद्मा उठेका प्रश्न तथा शङ्कामाथि सत्यता नरहेको भूमि व्यवस्थामन्त्री अधिकारीले स्पष्ट पार्नुभयो । “धनाढ्य पुँजीपतिहरूलाई जग्गा बाँड्ने भन्ने खालका प्रश्नहरू आएका छन् । त्यसमा सत्यता छैन । विधेयकमा राखिएको व्यवस्था घरजग्गा कारोबार गर्ने कम्पनीले सरकारी जग्गा नभई व्यक्तिगत जग्गा किनबेचसँग सम्बन्धित हो,” उहाँले भन्नुभयो, “हिजोका दिनमा जमिन किनेका तर सरकारसँग अनुमति लिन बाँकी रहेकालाई अनुमति दिने भनेको छ । यस्ता २०७४ सालयता एक सयभन्दा बढी निवेदन छन्  । त्यसलाई नियमन गर्ने भनेका छौँ । यो भनेको विगतकै विधिअनुसारका हो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button