तपाईँ सुन्दै हुनुहुन्छः

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छः मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि (आइटी) क्षेत्र विकासका लागि महत्वपूर्ण भएकाले यसमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताउनुभएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज भएको आर्थिक वर्ष २०८१/२०८२ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले यस विषयमा अर्थ मन्त्रालय गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । 

विगतमा जस्तै पुँजीगत खर्चमा मन्त्रालयसमेत पछि परेको स्वीकार गर्दै उहाँले यसले कर्मचारीको कार्यक्षमतामा सुधार गर्नुपर्ने र मन्त्रालयबीच सहकार्य विकास गर्नुपर्ने देखिएको बताउनुभयो । निर्देशनात्मक सुझावसहित उहाँले भन्नुभयो,“पुँजीगत खर्च नबढ्नुका विविध कारण मध्ये एउटा कर्मचारीको कार्यशैली हो भने अर्को सम्बद्ध मन्त्रालयबीच समन्वय र संयोजनको भूमिका प्रभावकारी नदेखिनु हो ।”

मन्त्री गुरुङले तोकिएका ‘माइल स्टोन’ पूरा गर्न र असार मसान्तसम्म मन्त्रालयअन्तर्गतका सबै निकायलाई पुँजीगत खर्च बढाउने गरी कार्यसम्पादन गर्न आग्रह गर्नुभयो ।

बैठकमा मन्त्रालयका सचिव राधिका अर्यालले पुँजीगत खर्चमा देखिएका समस्या समाधानबारे सबैले सोच्नुपर्ने बताउनुभयो । उहाँले आइटी क्षेत्रको नेतृत्व गर्ने सञ्चार मन्त्रालयमा लगानी नै नदेखिएपछि कसरी प्रगति हुन्छ भन्दै योजना आयोगको ध्यानाकर्षण गराउनुभयो । बैठकमा विभागीय प्रमुखहरूले उठाएका ‘माइल स्टोन संशोधन’ गर्ने विषयप्रति आफू सकारात्मक रहेको बताउनुभयो ।

अर्थ मन्त्रालयका उपसचिव नीरन भट्टराईले पुँजीगत खर्च सरकारको मुख्य समस्या भएको बताउँदै अबको बजेट विनियोजनमा अति आवश्यक र खर्च गर्न सकिने विषयमा मात्रै बजेट राख्न अनुरोध गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारीले हाल ३० हजारभन्दा बढी आयोजना रहेका र तयारी नै नभएका योजनामा बजेट राख्ने प्रवृत्तिले पुँजीगत खर्च हुन नसकेको धारणा राख्नुभयो । यसलाई हटाउन योजनाको पुनः प्राथमिकतामा ध्यान दिनुपर्ने उहाँको सुझाव थियो । 

सञ्चार मन्त्रालयका सहसचिव कोषहरि निरौलाले तेस्रो त्रैमासिक प्रगति विवरणबारे प्रस्तुति गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button