स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–२६ स्थित गण्डकी आयुर्वेद अस्पतालको अन्तरङ्ग लगायतका सेवाको शुभारम्भ गर्दै उहाँले सरकारले आगामी बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभयो । सरकारको आगामी आर्थिक वर्षको बजेटमा अन्य मन्त्रालयको बजेट घटे पनि स्वास्थ्यतर्फको बजेट नघट्ने र गत वर्ष भन्दा केही बढी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पछिल्ला समयमा आयुर्वेद चिकित्साप्रति आकर्षण बढेको बताउँदै उहाँले यसको विकास तथा विस्तारका लागि सरकार लागेको बताउनुभयो । जडीबुटीका लागि हामी सम्पन्न रहेको बताउँदै उहाँले यसको उपयोगतर्फ लाग्नका लागि आयुर्वेद चिकित्सालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले सरकारले गण्डकी प्रदेशमा अस्पतालहरू स्तरोन्नति गर्ने क्रममा गण्डकी आयुर्वेद अस्पतालको स्तरोन्नति गरिएको बताउनुभयो ।
प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले आयुर्वेद चिकित्साप्रति आकर्षण बढिरहेको बताउनुभयो । गुणकारी औषधीजन्य वस्तुको पहिचान गरी त्यसको उपयोग गर्नु जरुरी रहेको बताउँदै उहाँले यसका लागि आयुर्वेद चिकित्सा प्रणालीलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्