देशलाई समृद्ध बनाउने अभियानमा छौँ : उप–महासचिव ज्ञवाली
गुल्मी । नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले देशलाई समृद्ध बनाउने अभियानमा नेकपा एमाले रहेको बताउनुभएको छ ।

नेकपा एमाले धुर्कोट गाउँ कमिटीको आयोजनामा बोम बहादुर–टोमलाल स्मृति प्रतिष्ठानको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अनेक प्रतिकुलताका बाबजुद सडक, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका थुप्रै क्षेत्रहरूमा सरकारले काम गरिरहेको बताउनुभयो ।
उहाँले विकास निर्माणको जग बसाउने तथा सामाजिक अभियन्ता स्वर्गीय टोमलाल पाण्डे र बोम बहादुर खड्काको प्रशंसा गर्दै धेरै पैसा र ओहोदाभन्दा बाँचुन्जेल गरिने कर्म जनताको देशको लागि महत्वपूर्ण हुने बताउनुभयो ।
त्यस्तै नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले सादगी नेता टोमलाल पाण्डे र कुशल संगठक बोम खड्काको चर्चा गर्नुभयो । उहाँले आफूलाई जनप्रतिनिधिको रुपमा आजको दिनमा उभिने बनाउने पाण्डे र खड्काले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछाले बोम खड्का, टोमलाल पाण्डेले पार्टी प्रति गरेको कामको सधैँ प्रशंसा गर्ने बताउनुभयो ।
धुर्कोट गाउँपालिकाको ३९ लाख रुपियाँको आर्थिक सहयोगमा भवन निर्माण गरिएको नेकपा एमाले धुर्कोट गाउँ कमिटी अध्यक्ष लोक बहादुर केसीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्