तपाईँ सुन्दै हुनुहुन्छः

हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छः मन्त्री शाही

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिन्दुकुश हिमालय क्षेत्रका जनताले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यूनतम योगदान गरे पनि ठूलो असर भोग्न बाध्य भएको बताउनुभएको छ ।

आज यहाँ आयोजित हिन्दुकुश हिमालय क्षेत्रका राष्ट्रको मन्त्रिस्तरीय बैठकमा उहाँले हिमालय क्षेत्रको तापक्रम वृद्धिदर विश्वको औसतभन्दा धेरै रहेको उल्लेख गर्दै यसले जनजीवन र पारिस्थितिक प्रणाली दुवैलाई गम्भीर असर पारिरहेको बताउनुभयो । अहिले यस क्षेत्र मुलुकहरूले चरम मौसमी अवस्थाको सामना गर्नुपरेको उहाँको भनाइ थियो । 

मन्त्री शाहीले हिन्दुकुश हिमालय क्षेत्रका देशहरूको हिमालयसँग गहिरो आर्थिक, सामाजिक पहिचान, भविष्य जोडिएको बताउँदै हिन्दुकुश–हिमालय एक अत्यन्त संवेदनशील र महत्वपूर्ण विश्वव्यापी पारिस्थितिक प्रणाली भएको उल्लेख गर्नुभयो । 

मन्त्री शाहीले हाम्रो समृद्धि र सभ्यताका स्रोत पर्वतले अहिले जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिहरूको सामना गर्नुपरेको बताउनुभयो । यसले गर्दा हिमताल विस्फोट, पहिरो, खडेरी र अनियमित वर्षा निरन्तर जस्ता भइरहेको उहाँको भनाइ थियो ।

नदी, हिमनदी र पारिस्थितिक प्रणालीहरू देशको सिमानाले असर नगर्ने भएकाले हाम्रो कार्यक्रमहरू पनि सहकार्यमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस अवसरमा मन्त्री शाहीले हिमाल संरक्षणको अभियानमा विकास साझेदार र सङ्घ संस्थाहरूको भूमिकाको कदर गर्दै यस अभियानमा काठमाडौँमा मुख्यालय रहेको अन्तर–सरकारी संस्था इसिमोडको भूमिका पनि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

उहाँले हिमालयन युनिभर्सिटी कन्सोर्टियम, र सीमा पार ल्यान्डस्केप कार्यक्रमहरूलाई उच्च मूल्याङ्कन गर्दै वैज्ञानिक सहकार्यलाई राजनीतिक प्रतिबद्धतासँग जोड्नुपर्ने समय आएको बताउनुभयो । नेपाल यस दिशामा प्रविधि, वित्तीय र कूटनीतिक समन्वय गर्ने क्षेत्रीय मञ्च निर्माण गर्न तयार रहेको उहाँले बताउनुभयो ।

हिन्दुकुश हिमालय क्षेत्र र समग्र पर्वतीय देशहरू यस जलवायु सङ्कटको सामना गर्न नेतृत्वदायी भूमिका खेल्न जरुरी रहेको उहाँको भनाइ थियो । मन्त्री शाहीले सहयोग, सहनशीलता र जलवायु न्यायका लागि हामी सँगै मिलेर हामीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सचिवालय (युएनएफसिसिसी), जैविक विविधता महासन्धि वा अन्य अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो सामूहिक आवाज अझ सशक्त बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button