तपाईँ सुन्दै हुनुहुन्छः

सीटीईभीटीले जिपिएका आभारमा भर्ना गर्ने, प्रवेश परीक्षा दिन नपर्ने

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कुनै पनि कार्यक्रम अध्ययन गर्न विद्यार्थीले प्रवेश परीक्षा (इन्ट्रान्स) दिन नपर्ने भएको छ । अबदेखि एसइई तथा एसएलसीमा प्राप्त गरेको नम्बरका आधारमा छनौट गरिने भएको छ । 

त्यसका लागि परिषद्ले ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनौट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ जारी गरेको छ । 

निर्देशिका अनुसार एसइईमा लिएको नम्बरलाई जिपिए ४ अंक भार मानिएको छ । जसमा सामुदायिक विद्यालयमा अध्ययन गरेकालाई १ अंक र संस्थागत (निजी) विद्यालयमा अध्ययन गरेकालाई ०.८५ अंक गणना गरी योग्यता क्रम निर्धारण गरिनेछ ।

वैशाख २६ गते बसेको परिषद्को २०७ औँ बैठकले निर्णय गरेर परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएको थियो । सोही अनुसार कार्यालयले निर्देशिका जारी गरेको हो । 

विगतमा प्रवेश परीक्षा लिएर सोही प्रवेश परीक्षामा प्राप्त गरेको अङ्कका आधारमा विद्यार्थी भर्ना गरिँदै आएको थियो । 

यही शैक्षिक सत्रबाट जिपिएको आधारमा विद्यार्थी भर्ना गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रवेश परीक्षा लिएर विभिन्न खालका नकारात्मक हल्ला फैलने गरेको भन्दै जिपिएलाई आधार मानेर विद्यार्थी भर्ना गरिने कार्यालयले जनाएको छ । 

यसबाट भर्ना प्रक्रियामा देखिएका कमजोरीको अन्त्य हुने सिटीइभिटीको विश्वास छ ।

यसका लागि अबदेखि परिषद्ले अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरेको छ । आङ्गिक र सम्बन्धन प्राप्त निजी क्याम्पसहरूले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण समेत गर्नेछन् ।

सीटीईभीटीका परीक्षा नियन्त्रक उमेश मिश्रले यही शैक्षिक सत्रबाट जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने जानकारी दिनुभयो । 

सीटीईभीटीले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्नासम्बन्धी निर्देशिका २०८२ तयार गरी कार्यान्वयनमा ल्याएको हो । 

निजी कलेजहरूले यसअघि नै ग्रेडका आधारमा भर्ना गर्न माग गर्दै आएका थिए ।

देशभर ६३  आङ्गिक र प्रतिष्ठान एवं निजी गरी चार सयभन्दा बढी कलेज रहेका छन् । ती कलेजमा २५ हजारभन्दा बढी नयाँ विद्यार्थी हरेक वर्ष भर्ना हुने गरेको परीक्षा नियन्त्रक मिश्रले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button