जनकपुरधाममा सम्पन्न मेयर कपको उपाधि भारतको लखनउलाई
जनकपुरधाम । जनकपुरधाममा आज सम्पन्न भएको तेस्रो जनकपुरधाम मेयर टि–२० क्रिकेट प्रतियोगिताको उपाधि भारतको उत्तर प्रदेशका लखनउ टिमले जितेको छ ।

जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा आज सम्पन्न भएको बारा र लखनउ बीचको फाइनल खेलमा भारतको लखनउले बारा टिमलाई ८ विकेटले हराउँदै मेयर कपको उपाधि जित्नमा सफल भएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएका बारा टिमले लखनउलाई १६८ रनको लक्ष्य दिएकोमा लखनउले १७.४ ओभरमा २ विकेटको क्षतिमा १७३ रन बनाउँदै उपाधि जितेको हो ।
प्रतियोगितामा बाराबाट खेलेका राष्ट्रिय खेलाडी विवेक यादव बेस्ट ब्याट्सम्यान र प्लेयर अफ द सिरिज गरेर दुवै उपाधि जित्न सफल भएका छन् । उनले १ शतक र एक अर्ध शतक प्रहार गर्दै २२५ रन बनाए । यस्तै सेमिफाइनलमा ५ विकेट पनि लिएका थिए ।
२ म्याचको दुई इनिङमा ६ विकेट लिएका पर्सामा रञ्जित कुमार बेस्ट बलरको उपाधि जितेका छन् । वेष्ट ब्याटस म्यान तथा बलरका उपाधि जित्ने खेलाडीले कप तथा १० हजार नगद तथा प्लेयर अफ दि सिरिज हुनेले १५ हजारसहित कप प्राप्त गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको आयोजना, नेपाल क्रिकेट सङ्घको सहयोग तथा जिल्ला क्रिकेट संघ धनुषाको समन्वय तथा सहकार्यमा भएको जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगितामा विजेता टिम लखनउले कपसहित दुई लाख र उपविजेता टिम बाराले १ लाख २५ हजार नगद प्राप्त गरेका छन् ।
यस प्रतियोगितामा मधेस प्रदेशको ८ वटै जिल्ला टिम सहित भारतका विहारका २, दिल्लीका १ र उत्तर प्रदेशका लखनउका १ गरेर ४ टिम सहित कूल १२ टिमको सहभागी थिए ।
प्रतियोगितामा विजयी भएका टिमलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शिल्ड, पदक, प्रमाणपत्र तथा नगद प्रदान गर्नुभएको थियो ।
त्यस अवसरमा मुख्यमन्त्री सिंहले रामजानकी रंगशालाको निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको र जग्गाको विषय टुङ्गो लागेपछि अढाई अर्बको टेण्डर गरिने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्