तपाईँ सुन्दै हुनुहुन्छः

उत्पादनको बजारीकरण गर्न कृषि एम्बुलेन्स सञ्चालन

गुल्मी। गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । 

कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणमा टेवा पुराउने उद्देश्यले पालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । 

सत्यवती गाउँपालिका र सङ्घीय सरकारको साझेदारीमा ३४ लाखको लागतमा कृषि एम्बुलेन्स खरिद सञ्चालन गरिएको छ ।

पालिका भित्र उत्पादन भएका कृषि तथा पशुजन्य उत्पादन जिल्ला बाहिर सहज ढङ्गले निर्यात गर्ने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालन गरिएको हो । एम्बुलेन्स सञ्चालनको लागि पालिका स्तरीय थाप्ले सत्यवती कृषि बजार समिति गठन गरिएको छ भने सबै वडामा उपसमिति गठन गरिएको छ ।

१५ क्विन्टल क्षमता रहेको एम्बुलेन्समा २५ डिग्री सेल्सियस सम्म तापक्रम कायम गर्न मिल्ने र ५ दिन सम्म टिकाई राख्न सकिने छ । साथै कृषि र पशुजन्य उत्पादन निर्यात गर्न मिल्ने कृषि शाखाका प्रमुख  प्राविधिक उपकार भण्डारीले जानकारी दिनुभयो । 

किसान आफैबाट सञ्चालन र व्यवस्थापन भएको हुँदा किसानलाई तत्काल हुने नाफा, उत्पादनमा आधारित पाउने अनुदान र शेयरको प्रतिफल समेत लाभ हुने स्थानीय कृषक खिमान्नद पाण्डेको भनाई छ ।  

सबै वडाबाट कृषि उपज बुटवल लैजाने व्यवस्था मिलाइएको छ भने ठाउँ अनुसार प्रतिकेजी तीन देखि ६ रुपैयाँ सम्म भाडा तोकिएको छ । कृषि एम्बुलेन्स सञ्चालनले किसानलाई प्रोत्साहन हुने र उत्पादनमा थप वृद्धि हुने सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताउनुभयो ।

सत्यवती गाउँपालिकामा ९०० किसानहरुकाे ६० वटा  समूह बनाएर र अन्य एकल रूपमा गरि करिब एक हजार किसानले सक्रिय रुपमा कृषि तथा पशुपालन गरिरहेका छन् । मासु, दूध,अण्डा र कृषि उपज बाट वार्षिक १० करोड आम्दानी किसानले गर्दै आएको गाउँपालिकाको तथ्याङ्क रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button