प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सांसदहरुद्धारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा नेकपा एमालेका सांसद सूर्य थापाले बैशाख ३१ गते प्युठान जिल्लामा करेन्ट लागेर निधन भएका चित्रबहादुर केसीको परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद रामकुमार राईले गोकर्णमा बस्दै आएका खोटाङ जिल्लाका बनिन्द्रप्रकाश राईलाई आपराधिक समूहले कुटपिट गरेको र उपचारको क्रममा हिजो राईको निधन भएकाले कुटपिटमा संलग्नलाई तत्काल कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
राप्रपाका सांसद राजेन्द्र लिङ्देनले रविन्द्र मिश्रलगायतका नेतालाई आस्थाका आधारमा गिरफ्तार गरेर बन्दी बनाएको भन्दै अविलम्ब रिहाइका लागि सरकारसँग माग गर्नुभयो ।
त्यसैगरी बैठकको शून्य समयमा सांसदहरुले जनताको करबाट आएको बजेट जनतामुखी नै हुनुपर्ने भन्दै केन्द्रमुखी बजेटले विकास नहुने र बजेटमा स्थानीय सरकारलाई प्राथमिकतामा राखिनुपर्ने बताउनुभयो ।
सांसदहरुले वर्षायाम सुरु हुन लागेको र प्राकृतिक जोखिमका हिसाबले नेपाल विश्वकै उच्च स्थानमा रहेकाले प्रभावकारी जोखिम न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहसँग समन्वय गरी आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने र छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्नको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिनुहुने कार्यसूची रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्