बाँकेबाट १५५ जना हजका लागि साउदी अरेबिया जाँदै
बाँके।साउदी अरेबियाको मक्का मदिनामा हज गर्न यस वर्ष बाँकेबाट १५५ जना मुस्लिम धर्मावलम्बी साउदी अरेबिया प्रस्थान गर्न लागेका छन्। हज इस्लाम धर्मावलम्बीको लागि जीवनमा एक पटक गर्नु पर्ने अनिवार्य धार्मिक यात्रा हो।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार हजमा जानेमध्ये ७६ जना महिला र ७९ जना पुरुष छन्। सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बाँके जिल्लाबाट यसपटक १५५ जनाले हज गर्ने अवसर पाएको जानकारी दिनुभयो।
नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले यात्रुहरूको सफल यात्रा तथा सुस्वास्थ्यको कामना गर्दै हजको आध्यात्मिक महत्व र सामाजिक सद्भाव सुदृढ गर्न यो अवसर महत्वपूर्ण हुने बताउनुभयो।
हज समितिका अनुसार पहिलो चरणमा जेठ ३ गते शनिबार ५५ जना हज यात्री, एक जना एम्बेसीका प्रतिनिधि र दुई जना हज समितिका सदस्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरेबिया प्रस्थान गर्नेछन्। दोस्रो चरणमा जेठ ४ गते आइतबार ११८ जना यात्रु, एक जना एम्बेसी प्रतिनिधि र एक जना हज समिति सदस्य साउदी जानेछन्। त्यसपछि जेठ ५ गते थप ५ जना र जेठ ७ गते बुधबार बिहान थप २ जना साउदी अरेबिया जाने कार्यतालिका रहेको छ।
देशभरिबाट २ हजारभन्दा बढी आवेदन परेका थिए भने १,१७१ जनाले हजमा जाने अनुमति पाएका छन्। उनीहरू ११ चरणमा मई १७ देखि २२ तारिखसम्म काठमाडौँबाट सिधै साउदीको जेद्दातर्फ जानेछन्। यात्रुहरू जुन २० देखि २५ सम्म स्वदेश फर्किने छन्। प्रति यात्री हज खर्च ३ लाख ७० हजार रुपैयाँ रहेको बताइएको छ।
प्रतिक्रिया राख्नुहोस्