तपाईँ सुन्दै हुनुहुन्छः

बर्दघाटको मुख्य बजार क्षेत्रमा अग्नि नियन्त्रण स्प्रे वितरण 

बर्दघाट । बजार क्षेत्रमा आगलागीका घटनाहरू बढ्न थालेपछि उद्योग ब्यापार संघ बर्दघाटले सार्वजनिक रुपमा निःशुल्क प्रयोग गर्ने गरी अग्नी नियन्त्रक यन्त्र राख्ने अभियान सुरु गरेको छ । 

बुधबार बर्दघाट बजारबाट अभियानको सुरु गरिएको हो ।  बर्दघाट बजारका हाल  ८ स्थानमा अग्नी नियन्त्रक यन्त्र राखिएको छ । 

यसैगरी जिमिरेभार भुताहा लगायतका क्षेत्रमा गरि तत्काललाई १५ थान स्प्रे राखिने सङ्घले जनाएको छ । 

आगलागीका कारण उद्योगी व्यापारीसँगै जोसुकैले ठुलो धनजनको क्षति बेहोर्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले अभियान सुरु गरिएको उद्योग ब्यापार संघ बर्दघाटका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो । उहाँले सावैनजिक रुपमा निःशुल्क प्रयोग गर्न सकिने भएकोले आगलागीका घटना घटे तत्काल आफूलाई पायक पर्ने स्थानबाट अग्नी नियन्त्रक यन्त्र लिई प्रयोग गर्न सकिने बताउनुभयो । 

यो अभियानको थालनी उद्योग ब्यापार सङ्घले सुरु गरे पनि सबैको साझा अभियान भएकोले यस अभियानमा जोडिन चाहने जुनसुकै संघ संस्था, व्यक्तिहरूसँग सहकार्य गर्न तयार रहेको भन्दै उहाँले यसलाई सफल बनाउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु  आग्रह गर्नुभयो । सङ्घमा आबद्ध उद्योगी व्यवसायीहरूले आ–आफूले व्यक्तिगत रुपमा रकम उठाएर अभियानको थालनी गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

आगजनी जन्य घटनाबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनगर गर्दै अभियान सञ्चालन गरेकोमा उद्योगी व्यवसायी र आम सर्वसाधारणले खुसी ब्यक्त गरेका छन् । आगामी दिनमा पनि उद्योगी व्यवसायीका समस्या पहिचान गर्दै बजार चलायमान गराउने क्षेत्रमा आवश्यक कार्यक्रम गर्नका लागि व्यवसायीहरूले आग्रह गरेका छन् । 

सङ्घको अभियानलाई समर्थन गर्दै विभिन्न स्थानीय व्यवसायीहरूले सहयोग गरेका छन् ।आगलागीका कारण जुनसुकै बेला क्षति हुनसक्ने खतरा रहेकोमा सङ्घले चालेको अभियानले  सहयोग पुग्ने ब्यवसायिहरुको भनाई छ ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष भरत कँडेलले उद्योग ब्यापार संघ बर्दघाटको अभियानमा आफूहरू पनि हातेमालो गर्ने बताउनुभयो । 

पहिलो चरणमा यन्त्रहरू राख्ने काम गर्ने र लगत्तै त्यसको प्रयोगका बारेमा बृहत् कार्यक्रम आयोजना गरी डेमोस्ट्रेसन गरिने संघका वरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले बताउनुभयो । यस अभियानमा सबैले हातेमालो गर्दै व्यापक रुपमा अगाडि बढ्नेमा आफु आसावादी भएको उहाँले बताउनुभयो । 

महासचिव नारायण भण्डारीले धेरै औपचारिक कार्यक्रमभन्दा छिटो छरितो ढङ्गबाट उद्योगी, व्यवसायी र उपभोक्तामैत्री कामहरू प्राथमिकताका साथ गरिने बताउनुभयो । 

अभियान निरन्तर सञ्चालन हुने र बर्दघाट बजार मात्र नभई चिसापानी, पञ्चनग, भटौलिया, जिमिरेभार, कुकुरमारा लगायतका क्षेत्रमा पनि अग्नी नियन्त्रक स्प्रे राखिने सङ्घले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button