सङ्क्रमणकालीन न्याय : आयोगको पूर्णतापछि द्वन्द्वपीडितको मिश्रित प्रतिक्रिया

कञ्चनपुर । लामो समयदेखिको प्रतीक्षापछि सङ्क्रमणकालीन न्यायका लागि गठन गरिएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले अन्ततः पूर्णता पाएको छ ।
नयाँ नेतृत्वसहित गठन भएका यी आयोगप्रति द्वन्द्वपीडितहरूमा आशा र शङ्काको मिश्रित प्रतिक्रिया देखिएको छ । कञ्चनपुरका द्वन्द्वपीडित शङ्कर बहादुर डगौरा आयोगको पुनर्गठनप्रति आशावादी देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले धेरै वर्ष न्यायको पर्खाइ गर्यौँ । अब आयोग बनेको छ, यो राम्रो पक्ष हो, तर निष्पक्ष अनुसन्धान र कार्यान्वयन नभए फेरि धोका हुनेछ ।”

त्यस्तै, कञ्चनपुरकै द्वन्द्वपीडित शितली चौधरीले पनि पीडितका पक्षमा न्यायसङ्गत काम हुनुपर्नेमा जोड दिनुभयो । उहाँ भन्नुहुन्छ,“हामी क्षतिपूर्ति मात्र होइन, सत्यको खोजी र दोषीलाई जबाफदेही बनाउन चाहन्छौँ । माफी र मेलमिलाप न्यायको आधारमा हुनुपर्छ ।”
सङ्क्रमणकालीन न्यायका नाममा बनेका आयोगहरूले विगतमा विश्वास गुमाइसकेका थिए । पटक पटक नेतृत्व परिवर्तन, कानुनी अन्योल र राजनीतिक हस्तक्षेपले आयोगको प्रभावकारिता माथि प्रश्न उठ्ने गरेको थियो । तर द्वन्द्वपीडितहरू अहिले पनि आशावादी देखिन्छन् । आयोगले अब निष्पक्ष, प्रभावकारी र पीडित केन्द्रित ढङ्गले काम गर्न सक्यो भने सङ्क्रमणकालीन न्यायको प्रक्रिया सार्थक बन्न सक्छ । पीडितहरूका लागि न्याय क्षतिपूर्ति वा कागजी प्रक्रिया मात्रै होइन, सत्यको खोजी, दोषीको पहिचान र संस्थागत जबाफदेहिताको माग समेत पीडितहरूको चाहना छ । आयोगले अब यिनै पक्षमा केन्द्रित भएर काम गर्नुपर्ने पीडितहरूको माग छ ।

प्रतिक्रिया राख्नुहोस्