तपाईँ सुन्दै हुनुहुन्छः

अब दुई चार दिनभित्रै गभर्नर नियुक्ति हुन्छ : मन्त्री गुरुङ

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति केही दिनभित्र हुने बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री गुरुङले नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको लागि यसअघि गठित समिति विघटन गरी ३ सदस्यीय समिति पूर्नगठन गरिएको र अब दुई चार दिनभित्रै गभर्नर नियुक्ति हुने विश्वास व्यक्त गर्नुभयो । 

सञ्चार मन्त्री गुरुङले यसअघिको समितिको सदस्यले राजीनामा दिने परिस्थिति बनेकोले यस कामलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न फेरी समिति पुनर्गठन गरिएको बताउनुभयो ।

उहाँले समितिमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक र सदस्यहरूमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र आर्थिक, मौद्रिक तथा वाणिज्य क्षेत्रका व्यक्तिहरू मध्येबाट डा.पोषराज पाण्डे रहनुभएको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले मनसुनका कारण जोखिममा भएका कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाको वडा नं ३, ८, ९ र १० लाई तीन महिनाको अवधिका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

यस्तै, नेपाल कृषि अनुसन्धान परिषद्को पुनर्संरचना गर्न प्रा.गोविन्दराज पोखरेलको संयोजकत्वमा उच्चस्तरीय पुनर्संरचना समिति गठन गर्ने, नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायव निरीक्षकहरूको तलबमान तथा ग्रेड समायोजन गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

यस्तै, मन्त्रिपरिषद् बैठकले दोर्दी गाउँपालिका, लमजुङलाई जनवादी गणतन्त्र चीनको युनान प्रान्तस्थित फूगोङ काउन्टिसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्व स्वीकृति प्रदान गर्ने, संघ संस्था दर्ता, नियमन र व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जूमाको लागि सिद्धान्त स्वीकृति गर्ने विभिन्न उच्चस्तरीय प्रतिनिधिमण्डलको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button