तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक सुशासनमा अब्बल सोलुदूधकुण्ड नगरपालिका

'बेरुजुमा देशकै दोस्रो, कोशी प्रदेशको पहिलो'

सोलुखुम्बु । आर्थिक वर्ष २०८०/०८१ मा सोलुदूधकुण्ड नगरपालिकाले बेरुजु कम गर्दै देशकै दोस्रो, कोशी प्रदेशमा पहिलो भएको छ ।

महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार देशभरका ७५३ स्थानीय तह मध्ये राष्ट्रियस्तरमा दोस्रो र कोशी प्रदेशमा पहिलो भएको नतिजा प्रकाशन भएको हो ।

नगरपालिकाको कुल एक अर्ब ५८ करोड २२ लाख ४५ हजार रुपियाँ बजेटको लेखापरीक्षण गर्दा जम्मा ०.०१ प्रतिशत, अर्थात् एक लाख २१ हजार आठ सय रुपियाँ मात्र बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । 

सोलुदूधकुण्ड नगरपालिकाले निरन्तर रूपमा जनउत्तरदायी, पारदर्शी र परिणाममुखी स्थानीय शासनको अभ्यास गर्दै सुशासन र वित्तीय अनुशासनप्रतिको प्रतिबद्धताका कारण यो नतिजा प्राप्त भएको सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनुभयो ।

‘यो उपलब्धि कुनै संयोग नभई सक्षम, जिम्मेवार र जनताप्रति प्रतिबद्ध नेतृत्वको प्रतिफल हो । हाम्रो नेतृत्व लोकतान्त्रिक अभ्यासमा आधारित छ, जसले पारदर्शिता, सेवा–मुखी शासन र जनउत्तरदायी प्रशासनलाई प्राथमिकतामा राखेको छ ।’  नगरप्रमुख शेर्पाले भन्नुभयो ।

सोलुदूधकुण्ड नगरपालिकाको सफलता केवल वित्तीय अनुशासनको सीमामा मात्र सीमित नभई सामाजिक समावेशिता, जनसहभागिता र सामुदायिक विश्वासमा आधारित समग्र प्रयासको परिणाम भएको भन्दै सबै वर्ग, समुदाय र भौगोलिक क्षेत्रका नागरिकहरूलाई समेटेर ‘समृद्ध नगर, सशक्त समुदाय’ निर्माणमा समर्पित रहेको नगरप्रमुख शेर्पाको भनाइ छ । 

वित्तीय अनुशासनसँगै, भौतिक, सामाजिक र मानव विकासका सूचकहरूमा पनि गुणात्मक सुधार ल्याउन कटिबद्ध रहेको बताउने नगरप्रमुख शेर्पाले पारदर्शी लेखापरीक्षण प्रणाली, नागरिकमैत्री सेवा प्रवाह, पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा समावेशी कार्यक्रमहरू नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताउनुभयो । 

नगरप्रमुख शेर्पाले यस सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण नगरवासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला, विकास साझेदार तथा सहयोगीहरूप्रति सोलुदुधकुण्ड नगरपालिकाको तर्फबाट धन्यवाद दिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button