स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.सरोज शर्माका संयोजकत्वमा समिति गठन गरेको छ ।
हाल कार्यान्वयनमा रहेको स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई परिमार्जन गर्नका लागि समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।
गठित समितिमा मन्त्रालयका एघारौँ तहका सहसचिव डा.अनुप बास्तोला, वीर अस्पतालका प्रमुख नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुइँतुइँ, स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा.समीरकुमार अधिकारी, कानून उप सचिव गोपीकृष्ण रेग्मीलगायत रहनुभएको छ ।
हालको मापदण्डले आँखा अस्पताल, नाक, कान र घाँटी अस्पताल तथा न्युक्लियर मेडिसिनलगायतका स्वास्थ्य संस्थाको मापदण्ड नसमेटेकाले त्यसलाई थप्ने तयारी मन्त्रालयको छ ।
मन्त्रालयले स्वास्थ्य संस्थाको सेवा सुधार तथा प्रभावकारिता ल्याउन तयार पारेका सबै विषयलाई समेटेर मापदण्ड परिमार्जन गर्ने गरी तयारी अघि बढेको जनाइएको छ ।
कोरोना महामारीपछिको परिवर्तित अवस्थामा स्वास्थ्य सेवा प्रभवकारी बनाउन समेत अहिलेको मापदण्ड परिमार्जन जरुरी रहेकाले मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।
प्रतिक्रिया राख्नुहोस्