वीरगंज भन्सार (आइसिपी)बाट १० महिनामा १ खर्ब ४० अर्ब ४२ करोड राजश्व सङ्कलन

वीरगन्ज । देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको बीरगंज भन्सार कार्यालय अर्थात् एकीकृत भन्सार जाँच चौकी आइसिपीले चालु आर्थिक बर्ष २०८१/०८२ को १० महिनामा १ खर्ब ४० अर्ब ४२ करोड १८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
अर्थ मन्त्रालय भन्सार विभागले आईसिपी भन्सारलाई १० महिनाका लागि १ खर्ब ७८ अर्ब ६१ करोड ४५ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएकोमा लक्ष्यभन्दा ३८ अर्ब १९ करोड २७ लाख रुपैयाँ कम राजस्व असुली भएको आइसिपी भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो ।
कोरोना काल पछि सुरु भएको आर्थिक मन्दीको कारण आयात निर्यात व्यापारमा आएको गिरावटले बीरगंज भन्सार कार्यालय अर्थात् एकिकृत भन्सार जाँच चौकी आईसिपीले राजस्व सङ्कलनको लक्ष्य अझै भेट्न सकेको छैन ।
तर यता पछिल्लो समय वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार हँुदै गएको छ । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म भन्सार कार्यालयले लक्ष्यको ७८ दशमलव ६२ प्रतिशत राजस्व सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक लामिछानेले बताउनुभयो ।
बैशाख महिनाका लागि १८ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य रहेकोमा १५ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको र यो लक्ष्यको ८३ दशमलव १८ प्रतिशत रहेको भन्सार प्रशासक लामिछानेले बताउनुभयो ।
चालु आर्थिक वर्षमा आयात निर्यात व्यापारमा सुधार आउँदै गएकाले राजस्व सङ्कलनमा पनि त्यसको सकारात्मक प्रभाव देखिएको भन्सार प्रशासक लामिछानेले बताउनुभयो ।
उहाँले राजश्वमा योगदान गर्ने प्रमुख आयातित बस्तुहरूमा डिजेल, पेट्रोल, जिप, कार, भ्यान, बस ट्रकका चेसिस, एलपि ग्यास, ग्यास लाइटर, हवाई इन्धन, तयारी कपडा, खाद्य सामाग्री लगायतका सामान भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्