तपाईँ सुन्दै हुनुहुन्छः

आव २०८२/०८३का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल 

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठकमा आजपनि आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल भइरहेको छ ।

छलफलमा भाग दिँदै नेपाली कांग्रेसका सांसद डा. प्रकाशसरण महतले  सामाजिक न्याय, उत्पादनमुखी विकासमा जोड, नीजि क्षेत्र मैत्री र प्रतिस्पर्धी अर्थतन्त्र निर्माण गरी आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्ने लक्ष्यका साथ सिद्धान्त र प्राथमिकता आएको बताउनुभयो ।

सांसद डा. महतले सबै तहका सरकारबिच समन्वय कायम गर्ने, पुँजीगत खर्चलाई प्राथमिकताको आधारमा खर्च गर्ने, कानुनी, संस्थागत र प्रक्रियागत सुधारमार्फत नीजि क्षेत्रकाे सहभागिता बढाउने, सामाजिक सुरक्षालाई लक्षित रुपमा अगाडी बढाउने, नागरिकमैत्री सेवा प्रदान गर्ने लगायतका विषय सिद्धान्त र प्राथमिकतामा समेटिनुले जनतामा आशा जगाएको पनि बताउनुभयो ।

नेकपा एमालेका सांसद सूर्य थापाले महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनमा तीनवटै सरकारअन्तर्गत बेरुजु डरलाग्दो देखिएकाले बेरुजु फर्स्यौट र असुल उपर गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद थापाले सन्तुलित र समान विकासको संवैधानिक व्यवस्थाका आधारमा आगामी बजेट विनियोजन गर्नुपर्ने भन्दै योजना बैङ्कलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । 

छलफलमा नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा भएका छलफल र बहसमा संसदमा रचनात्मक बहस जरुरी रहेको भन्दै यसका लागि समय कम भएको र आगामी दिनमा यसलाई सच्याएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

सांसद पुनले पछिल्लो समय युवा पुस्तामा देखिएको असन्तुष्टे कम गर्न रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने, भोलीका लागि डिजिटल पूर्वाधार निर्माण गर्ने विषयमा छलफल आवश्यक रहेको र सरकारका नीति तथा कार्यक्रमहरूमा यस्ता विषयहरू समेट्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभामा आर्थिकवर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि सांसदहरुले बोल्ने क्रम जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button