तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: लोकतन्त्रलाई सत्ताको लागि मात्रै भूमिका खेल्ने थलो बनाउन नहुनेमा जोड

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मुलुकको अर्थतन्त्र कमजोर भएको अवस्थामा राष्ट्रप्रमुखदेखि प्रधानमन्त्री, मन्त्री र पालिका अध्यक्षसम्मले  मनलाग्दी सल्लाहाकार नियुक्त गरेर राज्यको खर्च बढाएकाले कानूनी व्यवस्था गरेर मात्रै सल्लाकार नियुक्त गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले लोकतन्त्रलाई  सत्ताको लागि मात्रै भूमिका खेल्ने थलो बनाउन नहुनेमा जोड दिनुभयो । 

नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर धर्तीले सरकार गठन भएदेखि नै संविधान संशोधनको चर्चा भए पनि अझै पनि कुनै प्रक्रिया अगाडि नबढेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

त्यसैगरी रास्वपाका सांसद हरि ढकालले कार्य अनुभवका आधारमा गभर्नर नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरु विना लामा, मेटमणि चौधरी, रञ्जुकुमारी झा, रामप्रकाश चौधरी, रञ्जिता श्रेष्ठ, प्रभु शाहलगायतले अर्बौँको लगानी गरेर प्रतिफल दिन नसक्ने संरचनाहरू बनाउन नहुने, आवश्यकताका आधारमा समानुपातिक रुपमा बजेट विनियोजन गरिनुपर्ने, टिकापुर विमानस्थलको रनवे विस्तार र स्तरोन्नति तत्काल गर्नुपर्नेलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिनिधिसभाको आजको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानून न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । 

बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकशिोर यादवले समितिको वार्षिक प्रतिवेदन २०८२ र कानून न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले समितिको वार्षिक प्रतिवेदन २०८१/०८२  पेश गर्नुभएको हो  ।  

बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल सुरु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button