सुरक्षाकर्मीलाई तनाव व्यवस्थापन तालिम
वीरगञ्ज । प्रहरी जवान तथा अधिकृतलाई लक्षित गरेर पर्सामा तनाव व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त आयोजनामा बिहीबार यहाँ तनाव व्यवस्थापन तालिम आयोजना गरिएको हो ।
सो अवसरमा वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत प्रहरी निरीक्षक निरोज चौलागाईले सुरक्षा निकायमा कार्यरत रहने प्रहरीहरूको व्यस्त कार्यशैली र दौडधुप धेरै हुने भएकाले पनि तनाव व्यवस्थापन कम गर्न तालिम गरिएको बताउनुभयो ।
‘‘प्रहरीको जागिरको शिलशिलामा बिहान उठ्ने बित्तिकै राति नसुतिन्जेलसम्म विभिन्न प्रकारका तनावको सामना गर्नुपर्ने भएकाले पनि तनाव व्यवस्थापनको विषय निकै अपरिहार्य जस्तै भइसकेको छ,’’ उहाँले भन्नुभयो,‘‘एउटा प्रहरीले राष्ट्रको सेवा, घरपरिवार र सेवाग्राहीलाई उच्च आचरणयुक्त व्यवहार गर्नुपर्ने भएकाले पनि तनाव व्यवस्थापन महत्वपूर्ण पक्ष हो । त्यसैले हामीले यस्ता रचनात्मक खालका कार्यक्रम गर्दै आइरहेका छौँ ।’’
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले प्रहरीले उच्च मनोबलसहित काम गर्नुपर्ने भएकाले पनि बेलाबखतमा ‘रिफ्रेस’ गराउनको लागि पनि तनाव व्यवस्थापनको तालिम आवश्यकता पर्ने बताउनुभयो । ‘‘प्रहरी सेवामा कार्यरत रहँदा सधैँ सजक र सर्तक भएर द्रुत गतिमा कार्यसम्पादन गर्नुपर्ने जिम्मेवारी रहन्छ । त्यो बेला प्रहरीमा तनाव उत्पन्न हुनु स्वाभाविक नै हो,’’ उहाँले भन्नुभयो,‘‘ प्रहरीमा उत्पन्न भएको तनाव व्यवस्थापनको विषय पनि प्राथमिकता राख्दै काम गर्नुपर्ने बेला भइसकेको छ ।’’
जैन श्वेताम्बर तेरापथं सभाका समणी निर्देशिका विपुल प्रज्ञा जीले मानव जीवनमा विभिन्न खालका उतारचढाव आउने भएकाले पनि तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । ‘‘सुरक्षा निकायमा कार्यरतहरूमा व्यस्त जीवनशैली र भागदौड हुने भएकाले पनि तनाव व्यवस्थापनलाई उच्च प्राथमिकता दिन जरुरी छ,’’ उहाँले भन्नुभयो,‘‘तनाव व्यवस्थापनका कार्यक्रम नियमित रुपमा सञ्चालन गर्न आवश्यक छ ।’’
प्रतिक्रिया राख्नुहोस्