आर्थिक अभावमा लोपोन्मुख सुरेल भाषाको पढाई बन्द
दोलखा । लोपोन्मुख सुरेल जातिको भाषा संरक्षणको लागि स्थानीय विद्यालयमा सुरेल भाषाको पाठ्यक्रम समावेश गरी पढाउन सुरु गरिएको भएपनि आर्थिक अभावको कारण अहिले त्यो कार्यक्रम बन्द भएको सुरेल जाति उत्थान समाजले जनाएको छ ।

२०७९ असारबाट दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५ सुरीमा रहेको बिष्णुस्वरी प्राथामिक विद्यालय (प्रावि) मा सुरेल भाषाको स्थानीय पाठ्यक्रम सुर्च लो (सुरेल भाषाका कुरा) को पढाई हुँदै आएको थियो । सुर्च लो भाषा आयोगले परीक्षणको रुपमा २०७८ सालमा तयार गरिदिएको पाठ्यक्रम हो ।
सुरेल बालबालिकाहरू अध्ययन गरिरहेको विद्यालयको कक्षा १ देखि ५ सम्म सुरेल भाषाको सुर्च लो पाठ्यक्रम समावेश गरी पढाई भइरहेकोमा अहिले शिक्षकलाई दिने पैसाको अभावका कारण त्यो कार्यक्रम बन्द भएको सुरेल भाषाका शिक्षक घनश्याम सुरेलले बताउनुभयो ।
विद्यालयमा सुरेल भाषाको पाठ्यक्रम समावेश गरी पढाउन गौरीशङ्कर गाउँपालिकाले तीन लाख रुपैयाँ उपलब्ध गराएकोमा उक्त रकमबाट मासिक १५ हजार तलब दिने गरी एक जना शिक्षक राखेर दुई वर्षसम्म पढाइएको सुरेल जाति उत्थान समाजका अध्यक्ष प्रल्हाद सुरेलले बताउनुभयो ।
पालिकाले थप सहयोग नगरेको र अन्य कतैबाट पनि स्रोत सुनिश्चित गर्न नसकिएका कारण दुई वर्षपछि पढाई बन्द गर्नु परेको समाजका अध्यक्ष प्रल्हाद सुरेलले बताउनुभयो ।
गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की भने पालिकाले सहयोग रोकेको नभै सुरेल भाषाको नयाँ पाठ्यक्रम पनि नभएको र विद्यार्थी पनि नयाँ नथपिएकोले हाललाई सहयोग बन्द गरिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्