वीरगन्जमा जेठ १ गतेदेखि बिहानी सत्रमा कक्षा सञ्चालन हुँदै
वीरगञ्ज । अत्यधिक गर्मीले विद्यार्थीलाई पठनपाठनमा समस्या हुन थालेपछि वीरगन्ज महानगरपालिकाले भोली जेठ १ गतेदेखि महानगरमा रहेका सामुदायिक र निजी विद्यालयहरूलाई बिहानी सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज एक सूचना जारी गर्दै जेठ १ गतेदेखि बिहानी कक्षा सञ्चालन गर्न महानगरमा रहेका सबै सामुदायिक र निजी विद्यालयहरूलाई निर्देशन दिएको हो ।
केही साता यता वीरगन्ज लगायत यस आसपासका क्षेत्रमा प्रचण्ड गर्मीसँगै दिउँसोको समयमा तातो हावा समेत चलिरहेका कारण दिउँसोको समयमा कक्षा सञ्चालन गर्दा विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर परिरहेकाले त्यसैलाई मध्यनजर गर्दै बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिइएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले बताउनुभयो ।
जेठ १ गतेदेखि बिहान ६ बजेदेखि शिक्षण सिकाई कार्यको लागि तोकिएको समय नघट्ने गरी सञ्चालन व्यवस्थापन गर्न गराउन विद्यालयहरूलाई आग्रह गरिएको लामिछानेले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्