तपाईँ सुन्दै हुनुहुन्छः

लोपोन्मुख सुरेल जातिले पानी माग्दै उभौली पर्व मनाए

दोलखा । सबैभन्दा कम जनसङ्ख्या भएको लोपोन्मुख सुरेल जातिले बालिनाली राम्रो होस भन्दै भुमे देवतासँग पानी मागेर सोमवार उभौली पर्व मनाएका छन् । 

हरेक बर्ष चण्डीपूर्णेको दिन नाचगानसहित रमाइलो गर्दै भूमि पूजा गरेर उभौली पर्व मनाउने प्रचलन रहेको सुरेल जातिको ज्येष्ठ सदस्य ८७ बर्षीय हरीकुमारी सुरेलले बताउनुभयो । 

बैशाख– जेठमा भित्राइने गहुँ बालीको सिजनमा प्रत्येक घरको सुरेल समुदायले शुद्ध गरेर गहुँको जाँड बनाउने र चण्डी पूर्णेको दिन त्यही गहुँको जाँडसहित भुमे देवताको पूजा गरी उभौली पर्व मनाउने प्रचलन रहेको सुरेल जाति उत्थान समाजका अध्यक्ष प्रल्हाद सुरेलले बताउनुभयो । उभौली पर्वको भोलिपल्ट चन पूजा गरिने उहाँले बताउनुभयो ।

उभौली पर्वको दिन नयाँ लगाइने बालीहरू राम्रो होस् भनेर पानी माग्दै २४ ठाउँमा गहुँको जाड, कुखुरा र चरा राखेर नाक्सो (पुजारी) र ङायीगा (धुपौरे) ले भुमे देवताको पूजा गर्ने प्रचलन रहेको सुरेल जाति उत्थान समाजका अध्यक्ष प्रल्हाद सुरेलको भनाई छ । सो क्रममा झाँक्रीहरूले जोखाना हेर्ने प्रचलन रहेको छ ।

भुमे पूजा गर्नुअघि झाँक्रीको घरबाट बेलपाती ल्याउने र ङायीगा (धुपौरे) को घरबाट झारी ल्याउने प्रचलन समेत रहेको स्थानीयको भनाई छ । त्यसैगरी सुरेल समुदायको प्रत्येक घरले भुमे मन्दिरमा शुद्धसँग बनाएको गहुँको जाँड ल्याउने प्रचलन रहेको स्थानीय बताउँछन् । सुरेल जातिले भुमे पूजा गर्नु अघि इविथानको पूजा गर्ने प्रचलन समेत रहेको छ ।

भुमे पूजा सकिएपछि भुमेथानमा जम्मा भएका सुरेल समुदाय र छिमेकीहरू समेत मिलेर गहुँको जाँड, सेलरोटी, आलुको तरकारी लगायतका परीकार खादै नाचगान सहित रमाइलो गर्ने प्रचलन रहेको सुरेल जाति उत्थान समाजका अध्यक्ष प्रल्हाद सुरेलले बताउनुभयो । 

दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर–५ सुरीमा मात्र बसोबास रहेको सुरेल जातिको जनसङ्ख्या दुई सय ३१ रहेको छ । सुरेलको जनसङ्ख्या ३ सय १८ रहेपनि भारतमा बसोबास गर्ने ८५ जनाले मुखिया लेख्ने र दुई जनाले जागिर खाने बेला सुनुवार लेखेकोले लोपोन्मुख जातिलाई सरकारले दिँदै आएको भत्ता दुई सय ३१ जनाले पाउने भएकोले त्यही नै सुनुवारको जनसङ्ख्या मानिएको अध्यक्ष प्रल्हाद सुनुवारको भनाई छ । 

सुरेलहरूको ५० घर सुरीमा, ७ घर सुम्नामा र ३ घर खारेखोलामा रहेको अध्यक्ष प्रल्हाद सुरेलको भनाई छ । 

सुरेल जाति कसरी रहन गयो भन्ने तथ्यगत प्रमाण नभएपनि एउटा किम्बदन्ती भने प्रचलनमा रहेको छ । किम्बदन्ती अनुसार ससुरा ज्वाइँ बासे (ससुरा) र वीरबल (ज्वाइँ) भोटबाट शिकार खेल्दै सुरी आसपास आइपुगे । सोही समय एकजना माझीको बच्चा एउटा शेर्पाले अपहरण गरेर लगेको थियो । बासे र वीरबलले शेर्पाबाट उक्त बच्चालाई मुक्त गरी माझीको जिम्मा लगाई दिए । 

ससुरा ज्वाइँको उक्त कार्यबाट खुशी भएका माझीहरूले ती दुईलाई सूर्यवंशी भन्दै तेरमुफ (टिम्मुर वारी) दिएर बस्ने व्यवस्था गरे । उनीहरू माझीहरूसँगै बसेकै बेला कोठामा थुनेर राखेको एउटा माझीको छोरी गर्भवती भइन । उक्त गर्भ सूर्यबंशीहरु बाटै रहन गएको माझीहरूले आरोप लगाए । यसरी माझी र सूर्यवंशीको गर्भबाट भएको सन्तान सुरेल भए । 

भोटबाट ससुरा ज्वाइँ बासे र वीरबल कहिले आए भन्ने तथ्यगत प्रमाण नभए पनि जङ्गबहादुर राणाको शासन कालमै सुरेलको नाममा लालमोहर लागेको कागजात रहेको सुरेल जाति उत्थान समाजका पूर्व अध्यक्ष सुवास सुरेल बताउनुहुन्छ । यस तथ्यबाट सुनुवार र सुरेल एउटै हैन भन्ने पुष्टि हुने सुरेल समुदायको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button