तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको रामनगरीमा आगलागी ४ घर जलेर नष्ट लाखौँको क्षति 

बीरगंज । पर्साको बहुदरमाई नगरपालिका बडा नम्बर–८ रामनगरीमा आज दिउँसो अचानक आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् भने लाखौँको क्षति भएको छ । 

विद्युतको तार सर्ट सर्किटका कारण भएको आगलागीले स्थानीयवासीको घर, धानको भकारी र पशु चौपाया, मोटरसाइकल समेत जलेर ठुलो क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आगलागीको कारण १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीय तुलसी राउत अहिरको घरमा आज दिउँसो भएको आगलागीबाट उनको कच्ची काठको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीमा तुलसीको धानको भकारी पनि जलेर खरानी भएको छ भने उनको गोठमा रहेको भैँसी समेत घाइते भएको छ । घाइते भैँसीको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन् ।

यसैगरी, सोही स्थानका हरिन्द्र यादवको काठको घर र उनको धानको भकारी पनि आगलागीमा जलेर पूर्ण रूपमा नष्ट भएको छ । 

त्यस्तै, अर्का स्थानीय नन्दु राम र सुकदेब रामको समेत घर र धानको भकारी जल्दा ठुलो क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

आगलागीबाट घरबार विहीन भएकाहरूलाई राहत उपलब्ध गराउन स्थानीयले सम्बन्धित सङ्घ संस्थालाई आग्रह गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button