देशमा परिवर्तन ल्याउन संविधान संशोधन अपरिहार्य: अध्यक्ष प्रचण्ड

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले देशमा परिवर्तनका लागि संविधान संशोधन अपरिहार्य रहेको बताउनु भएको छ ।
आज आइतबार धरानमा आयोजित किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपाल संयुक्त राष्ट्रिय सम्मेलनको संयुक्त उद्घाटन समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रचण्डले वर्तमान निर्वाचन प्रणाली जनताको हितमा नरहेको र पैसावालाहरूको पक्षमा मात्र केन्द्रित भएकाले संविधान संशोधन गरेर जनमुखी प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।
उनले राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता औँल्याउँदै संविधानलाई संशोधन गरेर समावेशी समाजवादतर्फ उन्मुख बनाउनुपर्ने धारणा राख्नुभयो ।
माओवादी नेतृत्वको जनयुद्ध र जनआन्दोलनको बलमा निर्माण गरिएको संविधानलाई अझ समावेशी र जनमुखी बनाउन संविधान संशोधन अपरिहार्य रहेको यस अभियानमा सबै उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनतालाई साथ दिन आह्वान समेत गर्नुभयो ।
प्रचण्डले धरानका नगरप्रमुख हर्क साम्पाङप्रति पनि सकारात्मक प्रतिक्रिया जनाउँदै उनी लोकतन्त्रमा फुलेको सुन्दर फूल भएको उल्लेख गर्नुभयो । उनले माओवादीप्रति नकारात्मक दृष्टिकोण राख्नु आवश्यक नरहेको बताउँदै सबै उत्पीडित वर्गका प्रतिनिधिहरू, पहिचानका पक्षधर, माओवादी आन्दोलनसँग सम्बद्ध पार्टी तथा समूहहरू र हर्क साम्पाङजस्ता नयाँ उदाएका राजनीतिज्ञहरूलाई संविधान संशोधन र समाजवादी रूपान्तरणको अभियानमा एकजुट हुन आग्रह गर्नुभएको हो ।
आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध कठोर अभियान सञ्चालन गरेको छानबिन गर्दा आफू विरुद्ध पनि अनुसन्धान गर्न र दोषी देखिए नछोड्नू भनेर प्रहरी प्रमुखलाई निर्देशन दिएको बताउनुभयो ।
उहाँले माओवादी केन्द्रले देश र जनताको पक्षमा काम गर्न सदैव प्रयास गरेको स्मरण गर्दै समावेशी पूर्वाधार विकासका लागि मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तर–दक्षिण करिडोर निर्माण र विद्युत् लोडसेडिङ अन्त्यजस्ता महत्वपूर्ण कामहरू माओवादी नेतृत्वको सरकारको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघा, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मुक्सामहाङ मेन्याङ्बो, माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेल, पूर्व सभामुख ओनसरी घर्ती राजनैतिक दलका कार्यकर्ता लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्