तपाईँ सुन्दै हुनुहुन्छः

‘कानून निमार्ण तथा कार्यान्वयन गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’

सुर्खेत । कानून निर्माण तथा कार्यान्वयन गर्न सञ्चार माध्यमको भूमिका प्रभावकारी रहेको सरोकारवालाले बताएका छन् । 

कर्णाली प्रदेशसभा सचिवालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कानून निमार्ण र कार्यान्वयनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी सरोकारवालाले आमसञ्चार माध्यमलाई सबल र सक्षम बनाउन आवश्यक रहेको ल्याएका हुन् । 

संसदीय मामिला पत्रकार समाज कर्णाली, संसदीय पत्रकार मञ्च कोशी र कर्णाली प्रदेशसभा सचिवालयबीच भएको त्रि–पक्षिय अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले कानून कार्यान्वयनलाई प्रभावकारी बनाउनका लागि मिडियाले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताउनुभयो । 

उहाँले पत्रकारहरूको क्षमता विकास, गुणस्तर वृद्धि गर्न प्रदेशसभाले सक्दो सहयोग गर्ने जनाउनुभयो । 

कार्यक्रममा संसदीय पत्रकार मञ्च कोशी प्रदेशका सल्लाहकार लिला बल्लभ घिमिरेले जबाफदेही शासन र नागरिकमा आलोचनात्मक चेतको वृद्धि गर्न मिडियाको भूमिका एक महत्वपूर्ण आधारशिला भएको बताउनुभयो । उहाँले सुसूचित र सशक्तिकृत नागरिक तयार गर्न मिडियाले सघाउने मात्र होइन अफवाह, झुट प्रचारबाजीका विरुद्ध दरिलो किल्लाको रुपमा उभिने गरेको बताउनुभयो। 

संसदीय पत्रकार मञ्च कोशी प्रदेशका अध्यक्ष कुमार लुइँटेलले संसदीय पत्रकारहरू बीचको अनुभव आदान–प्रदानबाट प्रदेश सरकारहरूको नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्ने । 

उहाँले पत्रकारहरूको पेसागत सीप, क्षमता र तालिम जस्ता कार्यक्रमहरू प्रदेश सभाले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले कानून निर्माणमा आम नागरिकको पहुँच नपुग्ने भएकाले त्यसको भूमिका पत्रकारले निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले सञ्चारमाध्यमहरूको क्षमता विकास गरी प्रदेश सभाले स्वतन्त्र, निष्पक्ष र सन्तुलित समाचार प्रवाह गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button