टीकापुरमा शिक्षाको राष्ट्रिय सम्मेलन शुरु

कैलाली । कैलालीको टीकापुरमा २ दिने शिक्षाको राष्ट्रिय सम्मेलन शुरु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसमा सामाजिक विज्ञानमा बहुआयामिक अनुसन्धान र नवीनता विषयक राष्ट्रिय सम्मेलन शुरु भएको हो ।
२ दिनसम्म चल्ने सम्मेलनको सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले उद्घाटन गर्नु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रदेश प्रमुख मियाँले अध्ययन अनुसन्धानबाट आएका निचोडलाई कार्यान्वयनमा लैजान सुझाव दिनुभयो ।
विभिन्न विषयमा अध्ययन अनुसन्धान भएपनि त्यसलाई कार्यान्वयनमा नलिँदा गरेका कामको पनि परिणाम नदेखिने भएकाले अबका दिनमा गरिने अध्ययन अनुसन्धानका निचोडलाई कार्यान्वयन गर्नु पर्ने बताउनु भयो ।

नेपाल सरकारको रकमबाट पढेका विद्यार्थीहरू पनि नेपालमा केही काम नगरेर विदेशिनु दुखद भएको बताउँदै उहाँले सरकारी रकममा पढेकाले नेपालकै लागि काम गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले अनुसन्धानलाई एउटा संस्कृतिका रुपमा विकास गर्दै लैजानु पर्ने बताउनु भयो । उहाँले अनुसन्धानकर्ताले हाम्रो संस्कार, संस्कृतिलाई अधिकार गर्दै आफ्नो अध्ययनलाई अगाडी बढाउँदा राम्रो नतिजा आउने बताउनु भयो ।
२ दिनसम्म चल्ने सम्मेलनमा देशभरका ८ वटा विश्वविद्यालयका प्राध्यापकहरूद्वारा विभिन्न विधाहरू (भाषा साहित्य, व्यवस्थापन, सामाजिकशास्त्र, संस्कृति, विज्ञान तथा प्रविधि, कृषिविज्ञान आदि) मा जम्मा ८१ वटा अनुसन्धान तथा खोजमूलक कार्यपत्रहरू प्रस्तुति गरिने छन् ।

विश्वविद्यालय अनुदान आयोग, सुदूरपश्चिम विश्वविद्यालय टीकापुर बहुमुखी क्याम्पस, अमेरिकन राजदूतावास, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय सरकार, वित्तीय सङ्घसंस्था, विद्यालयलगायत अन्य संघसंस्थाहरूको सहयोग र सहकार्यमा कार्यक्रम गर्न थालिएको हो ।
कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डिन, स्थानीय पालिका प्रमुख, क्याम्पस तथा विद्यालयका प्रमुखहरूलगायत करिब २०० जना शिक्षाप्रेमी सहभागी छन् ।
प्रतिक्रिया राख्नुहोस्