तपाईँ सुन्दै हुनुहुन्छः

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा एक सय ४५ प्रतिशत भन्सार महसुल अहिलेलाई ‘कायमै रहनेछ’ भन्नुभएको छ । 

यद्यपि अमेरिकी र चिनियाँ अधिकारीहरू यस हप्ता स्विट्जरल्यान्डमा व्यापार वार्ताका लागि तयारी गरिरहेका छन् ।

चीनका लागि नयाँ अमेरिकी राजदूत डेभिड पड्र्युको शपथ ग्रहण समारोहमा ट्रम्पले अमेरिका अब पहिले जस्तो ठूलो व्यापारिक नोक्सानी नभोग्ने बताउनुभयो ।

“हामीले वार्षिक १० खर्ब डलर गुमाइरहेका थियौँ, अब हामीले केही पनि गुमाइरहेका छैनौँ, मैले त्यसरी नै हेर्छु”, आगामी वार्ताका बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भन्नुभयो ।

ओभल अफिसमा चीनलाई वार्ता टेबलमा फर्काउन भन्सार महसुल घटाउने विचार गर्नुहुन्छ कि भनेर सोधिएको प्रश्नमा उहाँले सिधै ‘विचार गरेको छैन’ भनेर जवाफ दिनुभयो ।

उहाँले अमेरिकाले यस हप्ताको व्यापार वार्ताको पहल गरेको हो भन्ने चीनको दाबीलाई अस्वीकार गर्नुभयो । “उनीहरूले भने हामीले पहल गरेको रु म लाग्छ उनीहरूले फर्केर आफ्नो फाइलहरू अध्ययन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सिएनएनका अनुसार ट्रम्पको टिप्पणीपछि अमेरिकी सेयर बजारहरू केही मात्रामा घटेका छन् र भन्सार महसुल निर्णयको आधिकारिक घोषणापछि निरन्तर घट्दै छन् ।

विश्वका दुई ठूला अर्थतन्त्रबिचको व्यापार मार्चमा भन्सार महसुल युद्ध सुरु भएदेखि नै धेरैजसो रोकिएको छ । तथापि, शीर्ष अमेरिकी र चिनियाँ व्यापार अधिकारीहरूबीचको यस हप्ताको बैठक त्यसयता पहिलो औपचारिक वार्ताको चरण हो ।

यसैबीच फेडरल रिजर्वका अध्यक्ष जेरोम पावेलले व्यापार वार्ताको परिणामले अमेरिकी अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने बताउनुभयो ।

“हामी एउटा नयाँ चरणमा प्रवेश गरिरहेका छौँ जहाँ प्रशासनले हाम्रा थुप्रै महत्त्वपूर्ण व्यापारिक साझेदारहरूसँग वार्ता सुरु गरिरहेको छ । त्यसले आर्थिक परिदृश्यलाई भौतिक रूपमा परिवर्तन गर्ने क्षमता राख्छ — वा नराख्न पनि सक्छ”, सिएनएनले पावेललाई उद्धृत गर्दै जनाएको छ । रासस/एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button