तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वमन्त्री नेपालको निधनले देशले वामपन्थी आन्दोलनका प्रखर नेता गुमाएको छः अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता प्रदीप नेपालको निधनले नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा बौद्धिक व्यक्तित्व गुमाएको उल्लेख गर्नुभएको छ । 

अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गरी उहाँको निधनले मर्माहत बनाएको उल्लेख गर्नुभयो । 

“नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा बौद्धिक व्यक्तित्व कमरेड प्रदीप नेपालको दुःखद् निधनले मर्माहत भएको छु । निरङ्कुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु”, दाहालले भन्नुभएको छ,“ नेपालको निधनसँगै नेपाली वाम आन्दोलनले एक इमान्दार, निष्ठावान् र सिद्धान्तनिष्ठ नेता गुमाएको छ ।” 

लामो समयदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको ७१ वर्षको उमेरमा आज दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेता नेपालको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button