तपाईँ सुन्दै हुनुहुन्छः

मनसुनजन्य क्षति रोक्न पूर्वतयारीलाई तीव्रता दिन निर्देशन

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुनजन्य क्षति रोक्न पूर्वतयारीलाई तीव्रता दिन निर्देशन दिएको छ । 

आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३१औँ बैठक कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकले विगतमा भएका विपद्‌का कारण मनसुनजन्य सृजित भएको जनधनको क्षतिलाई स्मरण गर्दै यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानसमेतको आधारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ लाई यथाशीघ्र अन्तिम रूप दिन र कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारीसहित पूर्वतयारीलाई तीव्रता दिन प्राधिकरण तथा सरोकारवाला सबै निकायलाई बैठकले निर्देशन दिएको छ।

त्यसैगरी, बैठकले निर्माणाधीन महाकाली पुल,  पुलको पहुँच मार्ग र भीमदत्त नगरपालिकाको वडा नं. ११, १२ र १३ को बस्ती तथा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ८, ९ र १० का बस्तीहरूलाई संरक्षण गर्न उल्लिखित क्षेत्रलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ (१) बमोजिम घोषणा भएको मितिले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।

बैठकका क्रममा मन्त्री लेखकले गत असोजको अविरल वर्षाका कारण गएको बाढी पहिरोमा परेका नागरिकलाई उद्धारको लागि अहोरात्र खटिँदा स्वास्थ्यमा जटिल समस्या उत्पन्न भई उपचारका क्रममा मृत्युवरण गर्नुभएका सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालले विपद् व्यवस्थापनमा पुर्याएको विशेष योगदानको उच्च कदर गर्दै निजको जीवन सङ्गिनी सुजी कुँवरलाई मरणोपरान्त सम्मान पत्र प्रदान गर्नु भयो।

बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चात्‌को पुनर्लाभ (पुनर्निर्माण तथा पुनर्स्थापना) योजना (२०८१/०८२ र २०८३/०८४) को कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्दै क्षति आकलन हुन बाँकी घरधुरीको तदारुकताका साथ कार्यसम्पन्न गर्न प्राधिकरणलाई बैठकले निर्देशन समेत दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button