तपाईँ सुन्दै हुनुहुन्छः

‘राजनीतिककर्मी प्रत्यक्ष रुपमा जनताप्रति उत्तरदायी बन्नुपर्छ’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राजनीतिकर्मी प्रत्यक्ष रुपमा जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । 

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको स्वागतमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले राजनीतिकर्मीले जनताप्रति थुप्रै वाचा गरेकाले जनताले सम्झने गरी काम गर्नुपर्ने बताउनुभएको हो । 

सँधैका लागि आफ्नो कार्यकाल नभएकाले जनताले प्रत्यक्ष अनुभूति हुने खालको काम गर्नुपर्ने उहाँको भनाई थियो । मन्त्री खड्काले सीमित स्रोत र साधनका बीच उत्कृष्ट काम गर्नुपर्ने दायित्व आफूहरूमा रहेकाले यसमा राज्यमन्त्रीको साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले तीनै तहका सरकारसँग समन्वय गरेर दायित्वलाई जिम्मेवारीपूर्वक ढंगले निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । मन्त्री खड्काले व्यवहारिक ज्ञान, अनुशासित, मर्यादित, जिम्मेवार व्यक्तित्वका रुपमा आफूले राज्यमन्त्रीलाई लिएको बताउँदै आफूले सिकेको, देखेको, भोगेका कुरा र अनुभवलाई राष्ट्र निर्वाहमा लगाउनुपर्ने बताउनुभयो । 

उहाँले सहकार्य, पारदर्शिता र जबाफदेहिताका आधारमा मन्त्रालयको कार्यसम्पादनलाई परिणाममुखी बनाउने उल्लेख गर्नुभयो । एक आपसमा मानमर्दन, संस्कार र संस्कृति जोगाएर अगाडि बढे मात्र सफल भइने उहाँको भनाई थियो । 

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आफू देशकै लागि काम गर्ने व्यक्ति भएकाले कर्मचारीको साथ लिएर देश र मन्त्रीलाई सफल बनाउन लाग्ने बताउनुभयो । देश र जनताको पक्षमा आफूले काम गर्ने उहाँको भनाई थियो । 

मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य र जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले मुलुकलाई समृद्ध हासिल गर्ने क्षेत्र ऊर्जा र सिँचाइ भएकाले यसको विकासमा लाग्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button