तपाईँ सुन्दै हुनुहुन्छः

‘अनिर्वाचित तथा वंश परम्परालाई एमाले स्वीकार गर्दैन’

जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले अनिर्वाचित तथा वंश परम्परालाई कदापि स्वीकार नगर्ने बताउनुभएको छ । 

नेकपा एमाले धनुषाको ८ औँ जिल्ला अधिवेशनको आज जनकपुरधाममा रहेको महेन्द्रनारायण मिथिला संस्कृतिक भवनमा उद्घाटन गर्दै उहाँले पूर्व राजा अहिले आम जनता भएकाले संविधान अनुसार निर्वाचनमा भाग लिएर सत्ता प्राप्त गरेको खण्डमा नेकपा एमालेका स्वीकार गर्ने अरू अवस्थामा पार्टीले स्वीकार नगर्ने बताउनुभयो । 

उहाँले पञ्चायत कालमा २५ हजार किलोमिटर कालोपत्रे सडक रहेकोमा अहिले आएर १ लाख १० किलोमिटर पुगेको, शिक्षा, स्वास्थ्य, सञ्चारको क्षेत्रमा अभूतपूर्व विकास भएको विषयमा भ्रममा पारिएका जनतालाई बुझाउन जरुरी रहेको बताउनुभयो । 

नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रजातन्त्र तथा गणतन्त्रको अवधिमा नेपालको समग्र विकासमा ठूलो गति आएको बताउँदै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा गरिबी निवारणमा ठूलो परिवर्तन भएको दाबी गर्नुभयो । 

नेकपा एमालेका मधेश प्रदेशका इन्चार्ज लीलानाथ श्रेष्ठले मधेश प्रदेशको समृद्धि र विकासका लागि सुनकोशी–कमला डाईभसर्नको निर्माण तथा चुरेको संरक्षणका विषयमा प्रधानमन्त्रीलाई भेटेर हालै मागपत्र प्रस्तुत गरेको बताउनुभयो । 

पार्टीका जिल्ला इन्चार्ज एवं पोलिटब्युरो सदस्य जुली कुमारी महतोले मधेश प्रदेशको शिक्षा, स्वास्थ्य कृषि सहितका क्षेत्रका विकासका लागि नेकपा एमालेले अगुवाइ गर्नुपर्ने धारणा राख्नुभयो । 

नेकपा एमाले धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य उमाशङ्कर अरगरीया, हरिनारायण महतो सहितका वक्ताहरूले बोल्नुभएको थियो । तीन दिने जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको चयन गर्ने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशनमा ३ सय ५० प्रतिनिधि सहभागी रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button