वीरशाली गौरवमय पुरस्कार थापालाई प्रदान
बागलुङ । प्राथमिककालिन कवि वीरशाली पन्तको स्मृतिमा बागलुङ नगरपालिकाले स्थापना गरेको यस वर्षको वीरशाली पन्त स्मृति गौरवमय पुरस्कार धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर दिनबहादुर थापालाई प्रदान गरिएको छ ।

बागलुङको मुलपानीमा जन्मिनुभएका कवि पन्तको स्मृतिमा स्थापना गरिएको वीरशाली पन्त स्मृति गौरवशाली पुरस्कार यस बर्ष थापालाई प्रदान गरिएको हो ।
धौलागिरि बहुमुखी क्याम्पसमा बिगत लामो समयदेखि अध्यापनरत रही हाल क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका साहित्यिक व्यक्तित्व थापालाई नगद २५ हजार सहित पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार प्रदान गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले कवि वीरशाली पन्तले नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको स्मरण गर्नुभयो । उहाँले धौलागिरिको वाङ्मयी क्षेत्रमा समर्पित स्रष्टालाई पुरस्कृत गर्ने कार्य ऐतिहासिक भएको उल्लेख गर्नुभयो ।
वीरशाली पन्त स्मृति कोषले आयोजना गरेको कार्यक्रममा कोषका कोषाध्यक्ष गोविन्दराज गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त पुरस्कार गत वर्ष प्राध्यापक डाक्टर जगन्नाथ रेग्मीलाई प्रदान गरिएको थियो ।
कार्यक्रम वीरशाली पन्त स्मृति कोषका परिकल्पनाकार प्राज्ञ प्रेम छोटाको अध्यक्षता, उपाध्यक्ष महेशचन्द्र प्रदानको स्वागत र सचिव हरिप्रसाद पाण्डेयको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्