तपाईँ सुन्दै हुनुहुन्छः

सोक्ला भ्यालीमा रक क्लाइम्बिङ महोत्सव

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ सोक्ला भ्यालीमा शनिवारबाट ‘सोक्ला– चक्पा रक क्लाइम्बिङ महोत्सव– २०८२’ सुरु भएको छ । 

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग तथा भीमेश्वर नगरपालिका लगायत स्थानीय तह र विभिन्न संघ– संस्थाको सहकार्यमा सोक्लाश्वरी पर्यटन विकास समाजले ‘सोक्ला– चक्पा रक क्लाइम्बिङ महोत्सव– २०८२’ सुरु गरेको हो । 

सदरमुकाम चरिकोटबाट ८ किलोमिटरको दूरीमा रहेको सोक्ला भ्यालीलाई ‘एडभेन्चर क्लाइम्बिङ हब’को रुपमा विकास गर्दै यो क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘सोक्ला– चक्पा रक क्लाइम्बिङ महोत्सव– २०८२’ तेस्रो संस्करण भएको आयोजक सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले बताए । 

सोक्ला र चक्पा क्षेत्रमा पर्ने गुम डाँडाको ४२० मिटरको प्राकृतिक चट्टानी भीरमा रक क्लाइम्बिङ आयोजना गरिएको अध्यक्ष पाख्रिनले बताए । रक क्लाइमिबङको लागि उक्त भीरमा २५/२५ मिटरको दुई वटा सिङ्गल पिचको रक रुट प्रयोग गरिएको आयोजकले जनाएको छ । रक क्लाइम्बिङ महोत्सव– २०८२ को उद्घाटन बागमती प्रदेशका सांसद भरतबहादुर केसीले गरेका थिए । 

कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो, वडा नम्बर– २ का वडा अध्यक्ष स्टालीन श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष प्रभु जिरेल, कोच नेपालका अध्यक्ष सिमोन केसी लगायतको सहभागिता रहेको थियो । 

रक क्लाइम्बिङ  महोत्सव– २०८२ को अवसरमा कान्तिपुर टेलिभिजनका उपसम्पादक केदार शिवाकोटीलाई ‘सोक्ला रक क्लाइम्बिङ मिडिया अवार्ड– २०८२’ बाट सम्मान गरिएको थियो । 

रक क्लाइम्बिङ महोत्सवको अवसरमा हिमाल आरोही, नेपाल स्काउट, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतबाट सहभागिता तथा प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button